होलीको पूर्वसन्ध्यामा कैलालीको सुरक्षा व्यवस्था कडा, जबरजस्ती गर्नेलाई मुद्दा चलाइने



कैलाली : होली, रंगहरूको पर्व । घरपरिवार, साथीसंगी, छरछिमेक, आफन्तजन सबै मिलेर एकअर्कालाई रंग लगाएर खुसीयाली बाँड्ने पर्व । रातो, हरियो, गुलाबी, निलो, पहेँलो लगायतका रंग दलेर  खुसीयाली मनाउने सांस्कृतिक पर्व हो, होली अर्थात् फागु पूर्णिमा ।

तर, पछिल्ला वर्षहरूमा होली पर्वमा विकृति तथा उछृंखलता थपिँदै गएका छन् । अरूको इच्छा विपरीत जबरजस्ती रंग दल्ने, फोहोर पानी तथा हिलो छ्याप्ने, धुँदा सजिलै नजाने रसायन मिसाइएको र स्वास्थ्यलाई हानी पु¥याउने किसिमका रंग दल्ने क्रम बढेको छ । 

अझै ग्रिज, मोबिल जस्ता पदार्थ दल्ने प्रचलन निकै बढिरहेको छ । मदिरा तथा लागू पदार्थ सेवन गरेर होहल्ला गर्ने, अभद्र र उछृंखल व्यवहार गर्नेहरू पनि बढ्दै गएका छन् । होली खेल्ने नाममा कतिपय ठाउँमा झडपका घटना समेत दोहोरिने गरेका छन् । अप्रिय घटनाको संख्यामा समेत वृद्धि भइरहेको छ ।

गत वर्षको होलीमा धनगढी उपमहानगरपालिका वडा नम्बर १५, उर्मा गाउँमा केही युवाले एक जना युवतीलाई नुहाइरहेको बेला जबरजस्ती रंग दलेको घटना जिल्ला प्रहरी कार्यालयमा आएको थियो । कैलालीकै टीकापुरमा पुरानो विषयलाई लिएर होलीमा झगडा हुँदा एक जनाको ज्यान गएको थियो ।

हरेक वर्ष होली पर्वका वेला दोहोरिने यस्ता अप्रिय, अभद्र तथा उछृंखल घटना नियन्त्रण गर्न यस पटक कैलाली प्रहरीले विशेष सक्रियता देखाएको छ । होलीलाई व्यवस्थित र मर्यादित बनाउन आग्रह गर्दै प्रहरीले जिल्लाका धनगढी लगायत मुख्य बजारहरूमा माइकिङ गरिरहेको छ । 

होलीमा जबरजस्ती गरेको पाइएमा प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

उनका अनुसार महिलालाई लक्षित गरी जबर्जस्ती रंग दलेको वा लोला हानेको भेटिएमा पक्राउ गर्न जिल्लाका सबै प्रहरी ईकाईहरुलाई निर्देशन दिइएको छ । 

होलीका दिन मापसे गरेर सवारीसाधन चलाउने तथा हेल्मेट प्रयोग नगर्नेलाई पनि कारबाही गरिने बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस्