हिमालको लुलु गाई चितवनमा रमाउँदै



चितवन : अनुसन्धानका लागि हिमाली जिल्लाबाट ल्याइएको लुलु गाई यहाँको तापक्रममा पनि घुलमिल हुनसकेको छ। मुस्ताङमा जन्मिएको लुलुलाई चितवनमा ल्याएर बहर लगाइएको छ। एउटा गाई ब्याइसकेको छ भने तीन गर्भिणी छन्। 

राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुरका प्रमुख डा माधवप्रसाद आचार्यका अनुसार डेढ वर्षअघि ती गाईलाई यहाँ ल्याइएको थियो। मुस्ताङबाट ल्याएर दुई वर्ष काठमाडौँमा राखेपछि ती गाई चितवन ल्याइएको हो। आठ गाई र दुई साँढे ल्याइएका थिए। तीनै साँढे लगाएर गर्भिणी भएका चार गाईमध्ये एउटा एक महिनाअघि ब्याइसकेको छ भने तीन ब्याउने भएको आचार्यले बताए। 

ती गाई यहाँको तापक्रममा पनि रमाउन सकेको उनले बताउ। गाईको अनुसन्धान केन्द्रमा नियमित रूपमा आहारा खुवाएर अन्य गाईलाई झैँ ती गाईलाई पनि पालिएको छ । ब्याएको गाईले दैनिक दुई लिटर बढी दूध दिएको उनले बताए ।

मुख्यरूपमा मनाङ, मुस्ताङलगायतका हिमाली क्षेत्रमा पाइने लोपोन्मुख प्रजातिको रूपमा यो गाईलाई लिने गरिन्छ। वयस्क हुँदा १५० किलोदेखि १६० किलोसम्मको तौल हुने यो गाईको साँढेको जुरो हुँदैन। प्रमुख आचार्यका अनुसार निकै बलियो मानिने यो गाईलाई झट्ट कुनै रोग लाग्दैन। जस्तोसुकै कठिन परिस्थितिमा पनि जीवन निर्वाह गर्नसक्ने क्षमता यी गाईमा हुने उनले बताए। 

हिउँ पर्ने ठाउँमा आहारा खोजेर बाँच्न सक्ने क्षमता भएकाले यस गाईमा उन्नत जातको गाईसँग मिलाएर बलियो, जहाँ पनि घुलमिल हुनसक्ने र धेरै दूध दिने गाई उत्पादन गर्न सकिने आचार्यले बताए। लोप हुँदै गएको यस गाईको संरक्षण गर्दै यसको असाधारण क्षमतालाई उन्नत गाईसँग मिलाएर देशका जुनसुकै हावापानीमा घुलमिल हुनसक्ने राम्रो गाई उत्पादन गर्न सकिने देखिएको छ। 

लुलुजस्तै तीनरचारथरीका गाईलाई क्रस गरेर नयाँ गाई निकाल्न पनि लुलु उपयोगी हुने देखिएको छ। लुलुलाई सम्पत्तिका रूपमा संरक्षण गरेर राख्ने उद्देश्य लिइएको आचार्यले बताए। न्यून तापक्रममा हिमालमा हुर्किएका यी गाई तराईमा समेत घुलमिल हुन सक्नुले नेपालमा गाईको अनुसन्धानमा सहयोगीसमेत हुने देखिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्