इयूको दूतावास लाजिम्पाटमा, उपराष्ट्रपतिद्वारा उद्घाटन



काठमाडौं : युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायी रूपमा स्थानान्तरण भएको छ । 

लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ भवन परिसरमा आयोजित विशेष कार्यक्रममा दूतावासको उद्घाटन गरे ।  

त्यस अवसरमा नेपालको भ्रमणमा रहेकी युरोपेली सङ्घको एसिया–प्रशान्त क्षेत्रका लागि बाह्य कार्यसेवाकी नायव प्रबन्ध निर्देशक पाउला पम्पालोनीले इयू र नेपालबीचको सम्बन्धका विविध आयामबारे चर्चा गर्दै नेपालको सामाजिक–आर्थिक विकासमा सघाउन इयू प्रतिबद्ध रहेको बताइन् ।

“सन् २०२२ सम्ममा नेपाललाई अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति गर्ने सरकारको लक्ष्य हासिल गर्न इयूले सक्दो सहयोग गर्नेछ,” “नेपाल सरकारका विकासका प्राथमिकतामा सघाउन हामी तत्पर छौँ ।” समावेशी आर्थिक विकास पनि नेपालका निम्ति उत्तिकै अपरिहार्य भएको उनको भनाइ छ ।  

नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलका राजदूत भिरोनिका कोडीले सामाजिक–आर्थिक रूपान्तरणको दिशामा अग्रसर भएको नेपाललाई व्यापार, लगानी र पर्यटन प्रवर्द्धनका माध्यमबाट सघाउन सकिने प्रशस्त सम्भावना रहेको बताए । 

उद्घाटन समारोहमा कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र नेपाल सरकारका वरिष्ठ अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्