उद्योग मन्त्रालयले जनकपुर उद्योग वाणिज्य संघलाई दियो २५ लाख



जनकपुर : प्रत्येक वर्ष जस्तै यस वर्ष पनि जनकपुर उद्योग वणिज्यसंघले रंग अविरका साथ होली मनाएको छ। कार्यक्रममा प्रमुख अतिथि उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री रामनरेश रायले उद्योगी व्यापारीको सहयोगबिना प्रदेश समृद्ध बन्न नसक्ने ठोकुवा गरेका छन्।

मन्त्री रायले भने, ‘म  आफ्नो मन्त्रालयबाट जनकपुर उद्योग वाणिज्य संघलाई २५ लाख सहयोग गर्नेछु। हामी प्रदेश २ का सबै व्यापारीलाई साथ लिएर अगाडि बढ्ने प्रतिबद्धता समेत जनाउँछौं।’

सञ्चारकर्र्मीसँग उनले तथ्यहीन समाचार नलेख्न आग्रहसमेत गरे। उनले आक्रोशित हुँदै भने, ‘म सञ्चारकर्मीको नाम लिन चाहन्नँ तर चरित्र हत्या हुने गरी समाचार नलेखिदिनुस्।’

वाणिज्य संघको प्रांगणमा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै उनले प्रदेश २ को अस्थायी राजधानी जनकपुरलाई बनाएकोमा संघीय सरकारलाई धन्यवाद दिँदै यसैलाई स्थायी बनाउने बेला भएको बताएका छन्।

उनले प्रदेश नामकरण र भाषाको विषयमा सबैले मिलेर बीचको बाटो अपनाउन आग्रह गरे। ‘मधेसमा भएको आन्दोलनको मूलमर्म नमार्ने गरी सबै काम गर्न सकिन्छ’, उनले स्पष्ट पारे।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललित साहको अध्यक्षतामा भएको होली मिलन समारोहलाई सम्बोधन गर्दै प्रदेशसभा सदस्य परमेश्वर साहले होलीको जगेर्ना गर्न सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताएका छन्।

उनले राजनीतिक विषय उठाउँदै भने, ‘अहिलेको प्रदेश २ ले १६ वटा कानुन बनाइसकेको छ र झन्डै ३० भन्दा बढी प्रक्रियामा छन्।’ नेपाली कांग्रेसका नगर अध्यक्ष मनोज साहले युवा पुस्तालाई आफ्नो रीतिरिवाज, धर्म, संस्कृति र धरोहरबारे जानकारी दिनुपर्ने बेला आएको बताएका छन्।

अहिले जारी १५ दिने परिक्रमाबारे युवालाई जानकारी दिन कांग्रेसले मंगलबार जनकपुरबाट मोटरसाइकल ¥याली निकाल्न लागेको जानकारीसमेत गराएका थिए।

पूर्वमेयर बजरंग साहले होलिका दहनको प्रसंगबारे व्याख्या गर्दै होली किन मनाइन्छ जानकारी दिए। होलिका दहनको किम्वदन्ती होलीसँग जोडिएको बताउँदै उनले असत्यमाथि सत्यको जीतको रूपमा होली मनाउनु एक दिनअघि होलिका दहन गर्ने परम्परा मिथिलामा चल्दै आएको कथा सुनाएका थिए।

स्वागत गर्दै संघका वरिष्ठ उपाध्यक्ष जितेन्द्रप्रसाद साहले प्रमुख अतिथिलाई उद्योग वाणिज्य संघको स्तरोन्नति गर्न गराउन आग्रह गरे। उनले मिथिला क्षेत्रमा एउटा मात्र राजर्षि जनक सभाकक्षलाई विस्तार गर्न लागेकोसमेत जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्