मन्त्री भन्नै लाज भएको छ, सरकार हैन समिति भनौं : आन्तरिक मामिलामन्त्री शाह



कैलाली : सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाहले संघीय सरकारविरुद्ध आक्रोश व्यक्त गरेका छन्। राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले धनगढीमा आइतबार तहगत राज्य संरचनाको विकास समन्वय शीर्षकमा अन्तरक्रिया गरेको थियो। 

उक्त कार्यक्रममा मन्त्री शाहले सरकारले संघीयताको मर्मविपरीत काम गरिरहेको आरोप लगाए। सबै अधिकार केन्द्र सरकारले नै राखेर संघीयता सफल नहुने उनको धारणा थियो। ‘प्रदेश सरकारको मन्त्री हूँ भन्न लाज भइसकेको छ’, उनले आक्रोश पोख्दै भने, ‘हातखुट्टा बाँधेर प्रदेश सरकार किन भन्नु प-यो नाम परिवर्तन गरेर प्रदेश विकास समिति बनाए भइहाल्यो नि! सीडीओलाई किन प्रदेश प्रहरीको प्रमुख बनाउने?’ उनले त्यसमाथि अझै अरु प्रश्न थपे।

‘प्रदेश प्रहरी, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग हामीलाई चाहिँदैन? किन संघीय सरकारले एकलौटी कानुन बनायो?’ उनले सोधे। उनले संघीयतामाथि बारम्बार प्रहार भइरहेको र संविधानप्रति सबै तहका सरकार इमान्दार हुनुपर्ने भन्दै संघीयता र कानुन निर्माण गर्न उपयुक्त ढंगले लाग्न आवश्यक रहेको बताए।  

कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीले स्थानीय तहलाई प्रदेश र केन्द्र सरकारले अधिकारविहीन बनाउन खोजेको आरोप लगाए। प्रदेशस्थित मन्त्रालय तथा स्थानीय तहका जनप्रतिनिधि र प्रमुख सहभागी रहेको अन्तरक्रियामा पूर्वसंविधानसभा सदस्य खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गरेका थिए।

राज्यको तहगत संरचनामा कानुन निर्माण अधिकार, संघीयता कार्यान्वयन, तहगत राज्यको भूमिका, अन्तरसम्बन्ध र व्यवस्थापनका चुनौतीबारे प्रस्तुत कार्यपत्रमाथि समूहगत छलफल गरिएको थियो। राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहाल प्रमुख अतिथी रहेकी अन्तरक्रियामा उठेका गुनासा केन्द्रसम्म पु-याउने समितिकी सभापति दिलकुमारी रावल थापाले आश्वासन दिइन्। 

प्रतिक्रिया दिनुहोस्