३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित



म्याग्दी ः जिल्लाका ३१ विद्यार्थी आगामी सातादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन नपाउने भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेका मध्ये ३१ जना विद्यार्थी परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

एकाइ प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी नभएका कारण उनीहरू परीक्षामा सामेल हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये ५ जना धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये ५ जनाको पनि हाजिरी नपुगेकाले अयोग्य भएका छन् । 

एसइईमा म्याग्दीबाट १ हजार १११ छात्रा र १ हजार १३१ छात्र गरी कुल २ हजार २४२ परीक्षार्थी सहभागी हुने उक्त एकाइ प्रमुख बुढाथोकीले बताए । तीमध्ये २ दृष्टिविहीन विद्यार्थी पनि छन् । 

यसैगरी, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्रालयले परीक्षाको समयमा महिनावारी हुने छात्राको सहजताका लागि म्याग्दीसहित प्रदेशका २१७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाएको छ । कुल छात्रा संख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको उक्त मन्त्रालयका अधिकृत विष्णुमाया पौडेलले बताइन् ।

प्रतिक्रिया दिनुहोस्