योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै



म्याग्दीः ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा संचालित ‘नविन आनन्द योग केन्द्र’मा योग सिक्नका लागि म्याग्देलीहरुको आकर्षण बढ्दै गएको छ ।

बेनी बजारमा संचालित योग केन्द्रमा विभिन्न किसिमका योगासनबाट स्वास्थ्यलाभ भएपछि योग गर्न आउनेहरुको संख्यामा बृद्धि भएको नविन आनन्द योग केन्द्रका अध्यक्ष एवम् योग प्रशिक्षक नविन जुग्जालीले बताए । उनले पाँच हजारभन्दा बढिले स्वास्थ जीवन बिताइरहेको जानकारी गराए ।

म्याग्दीमा विभिन्न १० स्थानमा नविन आनन्द योग केन्द्रले योग केन्द्र संचालन गरेर योगा सिकाइरहेको छ । सदरमुकाम बेनी बजारमा दैनिक १ सय ७ जना, पश्चिम म्याग्दीको दरबाङमा ५० जना, बेनी नगरपालिका ४ को सिंगा तातोपानीमा ४० जना, रघुगंगा गाउँपालिका १ बेगमा ४० जना रघुगंगा गाउँपालिकाको तिप्ल्याङमा ३० जना, अन्नपूर्ण गाउँपालिकाको घोडेपानीमा २५ जना, गलेश्वरमा ४० जना, बेनी नगरपालिका २ जना खबरामा २५ जनाले दैनिकरुपमा योगा सिकिरहेका छन् ।

त्यसैगरी मालिका गाउँपालिका ७ बिम र बेनी नगरपालिका ७ मंगलाघाटमा पनि अस्थायी रुपमा योग केन्द्र संचालन भएका योग केन्द्रका अध्यक्ष जुग्जालीले बताए । योगमार्फत शरीरमा स्फुर्ति र मनमा आनन्द प्राप्त हुने तथा मानसिक तनाव र थकान कम हुने भएको दैनिक योग गर्न आउनेहरुको भनाइ रहेको छ ।

नियमित योगा गर्दै आउनुभएकी बेनी नगरपालिकाकी उपप्रमुख सञ्जु बरुवालले योगमार्फत आफूले जीवनलाई बुझ्ने अवसर प्राप्त गरेको, तनमा तन्दुरुस्ती र मनमा आनन्द प्राप्त हुने गरेको बताउँदै स्वास्थ्य र समुदाय दुवैका लागि योग अपरिहार्य रहेको बताइन्।

त्यसैगरी योग स्वास्थ्यका लागि मात्र नभएर आचार विचार, सोंच र सकारात्मक दृष्टिकोणको लागि पनि अत्यन्तै उपयोगी भएकोले आफू नियमित रुपमा योगासन गर्न आउने गरेको बेनी बजारका व्यवसायी विजयकुमार श्रेष्ठले बताए । 

 

प्रतिक्रिया दिनुहोस्