कालिगण्डकी कोरिडाेरले गति लिँदै, बेनी–जोमसोममा ४० प्रतिशत प्रगति



म्याग्दी ः पारवहन र व्यापारिक हिसाबले महत्वपूर्ण मानिने दुई ठूला मुलुक चीन र भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर निर्माणले गति लिएको छ। सडकलाई फराकिलो बनाउने र कालोपत्र गर्ने कार्यले गति लिएको छ।

बेनी–जोमसोम खण्डमा अहिलेसम्म ४० प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ। कुल ७६ किलोमिटरको बेनी–जोमसोममा ४ वटा र एक सय १० किलोमिटर दूरीको जोमसोम–कोरला खण्डमा ७ वटा प्याकेजसहित निर्माण कार्य अघि बढाइएको छ।

समग्रमा बेनी–जोमसोम–कोरला सडक आयोजनाको करिब ५५ प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख मुकुन्द अधिकारीले जानकारी दिए। उनका अनुसार छोसेरदेखि कोरला नाकाको २४ नम्बर पिलरसम्म १६ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएको छ। बेनी–जोमसोम सडक नालीसहित ११ किलोमिटर फराकिलो र कालोपत्रेसहित हुनेछ।

जोमसोम–कोरला सडक ११ मिटर चौडा हुनेछ र नाली, ग्याबिन पर्खाल, मेसिनरी पर्खाल निर्माण र ग्राभेल बिछ्याइने छ। तीन वर्षदेखि सञ्चालनमा रहेको यस आयोजनाले आगामी २०७७ असारसम्म सडक स्तरोन्नतिको काम सक्ने लक्ष्य लिएको छ।

पक्की पुल बन्दै 

‘बर्खायाममा बाढी पहिरो र कटानका कारण सडकको काम केही सुस्ताएको थियो, मंसिरदेखि सडक फराकिलो बनाउनेलगायत कामले तीव्रता पाएको छ, समय तालिका बनाएर यातायातका साधन आवागमनलाई व्यवस्थित गरेर काम गरिरहेका छौँ’, आयोजना प्रमुख अधिकारीले जानकारी दिए।

कुल साढे ७ अर्ब लागत अनुमान गरिएको यस आयोजनामा १ अर्ब ७५ करोडको ठेक्का लगाउने काम बाँकी छ। बेनी–जोमसोम सडकका लागि विसं २०६४ मा नेपाली सेनाले ट्रयाक खोलेर विसं २०६७ मा सडक विभागलाई हस्तान्तरण गरेको थियो।

भैरहवा–सुनौली नाकाबाट सुरु कालिगण्डकी करिडोरको सडक बुटवल, पाल्पा, गुल्मी हुँदै बागलुङसम्म ल्याइएको छ। म्याग्दीको बेनीबाट मुस्ताङको कोरलासम्म र बेनीदेखि पर्वत हुँदै र बेनीदेखि सीधै बागलुङसम्म यसअघि नै सडक निर्माण भइसकेको छ।

सडकको कुल लम्बाइ ४ सय ३५ किलोमिटर छ। यो करिडोर व्यापारिक मार्ग सञ्चालनमा आएसँगै यस क्षेत्रमा चिनियाँ र भारतीय पर्यटकको आगमन बढ्ने विश्वास गरिएको छ। कोरला नाकासम्मको सडक खण्डमा विभिन्न ३२ ठाउँमा पक्की पुल निर्माण गरिने आयाजनाले जनाएको छ।

कालिगण्डकी नदी र यसका सहायक साना–ठूला नदीहरुमा पुल निर्माण गर्नुपर्ने स्थानमध्ये डोलिडारले जोमसोमस्थित कालिगण्डकी नदीमा पुल निर्माण सम्पन्न गरिसकेको छ। चैलेस्थित कालिगण्डकी नदीमा पक्की पुल निर्माण भइरहेको छ। आयोजनाका इन्जिनियर जगत प्रजापतीका अनुसार २८ मध्ये १२ स्थानमा पुल निर्माणको काम जारी छ। 

प्रतिक्रिया दिनुहोस्