बिपी प्रतिष्ठानप्रति स्वास्थ्य मन्त्रीको चिन्ता 



विराटनगर : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खस्कँदो अवस्थाका बारेमा चिन्ता व्यक्त गरेका छन्। प्रतिष्ठानका चिकित्सकसँग आइतबार गरिएको अन्तरक्रियामा उनले प्रतिष्ठानलाई उकास्ने हिसाबमा काम गर्न सबैलाई निर्देशन दिए। प्रतिष्ठानमा भ्रष्टाचार, अराजकता र उदण्डता बढेको भन्दै यादवले त्यसलाई नियन्त्रण गर्न सरकारले आवश्यक कदम चालिसकेको बताए।

 ‘प्रतिष्ठानमा भइरहेको भ्रष्टाचार रोक्नकै लागि उपकुलपति राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरिएको हो,’ उनले भने, ‘यहाँ भएको अनियमितताका बारेमा छानबिन गरेर आवश्यक कारवाही अघि बढाउन अख्तियारलाई पनि भनिसकेका छौं।’ अख्तियारले छानबिन थालेपछि आवश्यक कागजपत्र उपलब्ध गराएर सरकारले सहयोग गर्ने मन्त्री यादवको भनाइ छ। उनले भ्रष्टाचार गर्ने सबै पदाधिकारीलाई कारवाही अघि बढाइने बताए।

दक्ष र कुशल व्यक्तिलाई पदाधिकारीमा राख्ने भन्दा पनि यस अघि चलखेलका भरमा पदाधिकारी नियुक्ती गरिएका कारण बिपी प्रतिष्ठानले दुरगति भोग्नु परेको उनको कथन छ। प्रतिष्ठानलाई छुट्टै विश्व विद्यालयका रुपमा अघि बढाउने तयारी सरकारले गरेको जानकारी यादवले दिए। मन्त्री यादवले चिकित्सकलाई दत्तचित्त भएर बिरामीको सेवामा लाग्न निर्देशन पनि दिए।

‘तपाईहरू बिरामीको सेवामा अहोरात्र खट्नुहोला,’ चिकित्सकलाई उनले भने, ‘अरु सहयोग सरकारले गर्छ।’ प्रतिष्ठान भित्रबाटै योग्य व्यक्तिलाई उपकुलपतिमा नियुक्ती गर्ने तयारी भइरहेको खुलासा उनले गरे। एक सय सिटमा झारिएको एमबीबीएस कोटालाई बढाएर दुई सय पुर्याउँदै दक्ष चिकित्सक उत्पादनमा सरकार लाग्ने मन्त्री यादवको भनाइ छ। देशकै ठूलो स्वास्थ्य संस्था बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आयोजना गरिएको अन्तरक्रियामा स्वास्थ्य सचिव चन्द्र घिमिरे पनि उपस्थित थिए। 

कार्यक्रममा बोल्ने अधिकांश चिकित्सकले व्यक्तिगत र राजनीतिक स्वार्थका कारण बिपी प्रतिष्ठान दयनिय बनेको बताए। उनीहरूले भ्रष्ट पदाधिकारीलाई कारवाही गरे मात्रै आगामी दिनमा प्रतिष्ठानलाई सुधार गर्न सकिने सुझाव पनि दिएका छन्। चिकित्सकहरूले बिरामीको जीवनसँग जोडिएको प्रतिष्ठानलाई दयनिय अवस्थामा पुर्याउने मुख्य भागिदार यहीका पदाधिकारी भएको उल्लेख गरे।

उनीहरूले योग्य र क्षमतावान एवं नेतृत्व गर्न सक्ने व्यक्तिलाई ल्याएर पदाधिकारीमा राख्न सकिए मात्रै प्रतिष्ठानलाई माथि उठाउन सकिने पनि बताए। चिकित्सक पशुपति चौधरीले चिकित्सक, कर्मचारी र पदाधिकारी काममा भन्दा पनि राजनीतिमा बढी सक्रिय हुँदा प्रतिष्ठान डुबेको बताए। यहाँ आर्थिक पारदर्शीता नहुँदा भ्रष्टाचार मौलाएको उनको भनाइ छ। प्रतिष्ठानको ऐन पनि समयअनुकूल परिमार्जन गर्दै लैजान आवश्यक रहेको चिकित्सकले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्