बाँके र बर्दियालाई कर्णालीमा गाभ्न बहस



सुर्खेत : प्रदेश ५ का जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। राजनीतिक दल समर्थनसहितको सर्वपक्षीय बृहत् अभियान चलाउनुपर्नेमा सहभागीले जोड दिएका हुन्। 

बाँके र बर्दिया कर्णालीमा गाभिए सिंगो प्रदेश सबैभन्दा सक्षम र सम्पन्न बन्ने उनीहरुको धारणा थियो। सुर्खेत उद्योग वाणिज्य संघ र कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच आइतबार वीरेन्द्रनगरमा भएको अन्तक्र्रियाका सहभागीले यस्तो बताएका हुन्। 

सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले नागरिकस्तरबाट आन्दोलन र अभियान थालिए पनि राजनीतिक समर्थन नभएसम्म यो प्रयास सफल नहुने बताए। उनले पहिला राजनीतिक समर्थन जुटाउनुपर्ने पनि सुझाव दिएका थिए। 

‘साविकका भेरी, कर्णाली र राप्तीका तीन वटै जिल्लाका उद्योग वाणिज्य संघहरुको पहलमा सर्वपक्षीय छलफल चलाई समर्थन जुटाउनुपर्छ,’ उनले भने, ‘त्यसपछि आवश्यकताअनुसार दबाबमूलक अभियान चलाउनुपर्छ।’

अव्यवहारिक तरिकाले खिचिएको प्रदेश विभाजनले दुईपक्षीय भावनात्मक सम्बन्ध कमजोर बनाएको भन्दै अध्यक्ष रावतले साझा समस्या र सवालमा एकमुख एकजुट हुुनुपर्नेमा जोड दिए।

यस्तै कोहलपुरका अध्यक्ष चक्रबहादुर अधिकारीले साविकका एउटै अञ्चलका बाँके, बर्दिया र सुर्खेतबीच व्यापारिक सम्बन्ध मात्र नभई सांस्कृतिक र पारिवारिक सम्बन्ध पनि रहेको उल्लेख गरे।

विगतमा संघीय संरचनाको नक्सांकन नै गलत भएको भन्दै उनले सुर्खेतमा भएको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्नेमा बाध्यतावश नसकिएको भन्दै पछुतो लागेको बताए। 

    

 

प्रतिक्रिया दिनुहोस्