राष्ट्रिय गान बजाएर सकियो सीके राउत समूहको बैठक, जनअभिमतबारे भाेलि छलफल हुने



जनकपुरधाम : सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको बैठक आज सिरहाको लहानमा सुरु भएको छ। चैत ४ र ५ गते हुने भनिएको बैठक विशेष कारणवश एक दिनअघि नै सुरु भएको जनाइएको छ। बैठक बिहान ११ सुरु भएर ५ बजे सकिएको हो। 

लहान मारवाडी सेवा समितिले आइतबार बिहान करिब ११ बजेदेखि राष्ट्रिय गानसहित बैठक सुरु भएको बताएको छ। बैठकस्थलबाहिर र भित्र सुरक्षा व्यवस्था कडा पारिएको थियो। बैठक चलिरहेको स्थानमा गठबन्धनका बाहेक अन्य व्यक्ति तथा पत्रकारलाई समेत निषेध गरिएको थियो। 

सरकारसँग ११ बुँदे समझदारीपछि मूलधारको राजनीतिमा आएका राउतले  आम जनता र कार्यकर्ताबीच कसरी प्रस्तुत हुने र राजनीतिक दल गठन गर्ने पक्रियालगायत विषयमा छलफल गर्न बैठक बसेको भन्ने जनाइएको छ। 

उक्त बैठकमा गठबन्धनका पदाधिकारीसहित मधेशका २२ वटै जिल्लाका करिब २ सय प्रतिनिधिको सहभागिता थियो। बैठक भोलि पनि बस्ने बताइएको छ। बैठकमा सहभागी हुन परिचयका रुपमा नागरिकता अनिवार्य गरिएको थियो। बैठकमा मोबाइल फोनसमेत प्रतिबन्ध लगाइएको थियो। 

स्रोतका अनुसार बैठकमा खासगरी सरकारसँग ११ बुँदे सहमतिपश्चात् उत्पन्न अवस्था र गठबन्धनले आफ्नो एजेन्डा छोडेर सरकारसमक्ष आत्मसमर्पण गरेको भन्ने आमजनताको बुझाइलाई कसरी चिर्ने भन्ने विषयमा चर्चा भएको छ। साथै ‘जनमतसंग्रह’को एजेन्डा छाडेर ‘जनअभिमत’मा जानुपर्ने कारणबारे पनि केही सदस्यहरुले कुरा उठाएका स्रोतले बताएको छ। 

दल दर्ता गरेर खुला राजनीतिमा आउने विषयले पनि बैठकमा स्थान पाएको स्रोतले बताएको छ। स्रोत भन्छ, ‘आज समान्य छलफल भए पनि भोलि बस्ने बैठकबाट निष्कर्षमा पुगिन्छ।’

बैठकमा भएका छलफलका विषय बाहिर आउन नदिन कडा प्रतिबन्ध लगाइएको स्रोतले बताएको छ। बैठकमा सहभागी भइसकेका पदाधिकारी तथा नेताहरुलाई बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। उनीहरुलाई नास्तादेखि खाना र बस्ने सुविधासमेत बैठकस्थल मारवाडी सेवा समितिमै मिलाइएको सहभागी एक नेताले नाम उल्लेख नगर्ने सर्तमा दनेपालटपलाई बताए।

बैठकस्थलबाहिर नेपाल प्रहरी र भित्र राउतका निजी कमान्डार (गठबन्धनका मधेस स्पेशल टास्क फोर्सका सदस्य) ले संयुक्त रुपमा सुरक्षा दिइरहेका छन्। बैठकस्थलभित्र प्रहरीलाई समेत प्रवेश निषेध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्