महले वैशाख २० मा ‘दाल भात तरकारी’ पस्कने



काठमाडौं  : ‘मह संचार’को ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुने भएको छ। अहिले फिल्मको दुई गीत सार्वजनिक गरिएको छ। राजधानीमा ‘दाल भात तरकारी’को शीर्ष गीत रिलिज गरिएको छ।

हरिवंश आचार्यले लेखेको ‘दाल भात तरकारी’ शीर्षक गीतमा शम्भूजित बास्कोटाले दिएका छन्। स्वरभ ने राजेश पायल राई र स्मिता दाहालले भरेका छन्। गीतको कोरियोग्राफी प्रवीन सिंहले गरेका छन्।

‘दाल भात तरकारी’ खाने प्रमुख कलाकार हरिवंश, निरुता सिंह, पुष्प खड्का र आँचल शर्माले शीर्षक गीतमा फिचरिङ छन्। भिडियोमा पुष्प र आँचलले सुन्दर नृत्य गरेका छन्। हरिवंश र निरुता भने भान्से बनेका छन्।

गीत रिलिजसँगै ‘दाल भात तरकारी’ले पूर्वनिर्धारित मितिको साटो नयाँ रिलिज मिति घोषणा गरेको छ। यसअघि वैशाख १३ मा रिलिज हुने घोषणा भएको थियो भने अब वैशाख २० गते रिलिज गरिने भएको छ। निर्माता किरण केसीले प्राविधिक कारणले फिल्म रिलिज एक साता सारिएको जानकारी दिए।  

‘दाल भात तरकारी’को कथा मात्र होइन पटकथा र सम्वादसमेत हरिवंश आचार्यको छ। निर्माता किरण केसीका छोरा सुदनको निर्देशनमा ‘दाल भात तरकारी’ पाकेको छ। ‘दाल भात तरकारी’ ल्याउने, पकाउने र खानेमा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाललगायत कलाकार छन्।

प्रतिक्रिया दिनुहोस्