चितवनमा प्रदेशस्तरीय पुलिस स्कुल



चितवनः प्रदेश नम्बर ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ। नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४, शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो।

स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ।शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो। शिशुदेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी संख्या कम भएर गाभ्न लागिएको थियो।

स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ विद्यार्थी अध्ययनरत छन्। ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ। स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया सुरु गर्न लागिएको अधिकारीले जानकारी दिए।

प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ। हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिए। एउटा कक्षामा ३० जनाका दरले सुरुमा १ सय ५० जनालाई पढाइने उनले बताए। पठनपाठनका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ।

प्रहरीको यो नवौं स्कुल हो। पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले संघीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो। प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो।

यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा पुलिस स्कुल सञ्चालन गरिएको थियो। सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो। स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ।

महानगरपालिकाकी प्रमुख रेणु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार सुरु हुन लागेको बताइन्। आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उनले जानकारी दिइन्। 

सो आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाभिने र अन्य सामग्री भने सोही विद्यालयमा पठाउने उनले बताइन्। महानगरपालिकासँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरिब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको महानगरपालिका प्रमुख दाहालले बताइन्। दाहालले पुलिस स्कुल खुलेसँगै शिक्षा, विकास, रोजगार, उत्पादनको खपत लगायतमा सहयोग पुग्ने उनकाे भनाइ छ। 

प्रतिक्रिया दिनुहोस्