नेपाल भित्रियो सात महिनामै ५ खर्ब १५ अर्ब रेमिट्यान्स



काठमाडाैंः चालू आर्थिक वर्ष २०७५÷७६ को सात महिनामा ५ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, रेमिट्यान्स आप्रवाहमा २८ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह १ दशमलव ७ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षमा यस्तो विप्रेषण आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । यो खबर आजको राजधानी दैनिकमा मधुजंग पाण्डेले लेखेका छन्।

वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकतर्फ जाने कामदारलाई दिइने अन्तिम श्रम स्वीकृति (संस्थागत एवं व्यक्तिगत) का आधारमा राष्ट्र बैंकले कामदार बाहिरिने संख्या समीक्षा अवधिमा ३९ दशमलव २ प्रतिशतले घटेको बताएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ दशमलव ९ प्रतिशतले घटेको थियो । यसैगरी, पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जानेको संख्या सो अवधिमा ४ दशमलव ९ प्रतिशतले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १ दशमलव ६ प्रतिशतले घटेको थियो । अघिल्लो वर्ष यस्तो आप्रवाह ६ दशमलव ४ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २७ दशमलव ३ प्रतिशतले वृद्धि भई ५ खर्ब ८६ अर्ब ५५ करोड पुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ प्रतिशतले घटेको थियो । यसैगरी गत माघ मसान्तसम्म कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँको नयाँ सेयर सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले मुलुकको वर्तमान वित्तीय तथा आर्थिक स्थितिबारे समीक्षा गरी सो तथ्यांक बाहिर ल्याएको हो। राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कुल ३ खर्ब ८७ अर्ब ६९ करोड रुपैयाँका नयाँ सेयर सूचीकृत भएका थिए।

सो अवधिमा कुल १५ अर्ब ९ करोड बराबरको साधारण सेयर ७ अर्ब ३९ करोड बराबरको हकप्रद सेयर, ६ अर्ब ६५ करोड बराबरको बोनस सेयर गरी कुल २९ अर्ब १३ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका थिए।

२०७४ सालको माघ मसान्तमा १३८० दशमलव ३ बिन्दु रहेको नेप्से सूचकांक वार्षिक बिन्दुगत आधारमा १८ दशमलव ३ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा ११२८ दशमलव २ बिन्दुमा रहेको छ।

गत असार मसान्तमा नेप्से सूचकांक १२१२।४ बिन्दु कायम भएको थियो । धितोपत्र बजार पुँजीकरण वार्षिक बिन्दुगत आधारमा १४ दशमलव ७ प्रतिशतले ह्रास आई चालू आर्थिक वर्षको गत माघ मसान्तमा १३ खर्ब ७७ अर्ब १५ करोड कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्