अत्याधिक रक्तश्रापले सुत्केरीको मृत्यु



सुर्खेतः अध्याधिक रक्तश्रापका कारण कालिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको पाँच दिनसम्म पनि साल नफुकेर निरन्तर रक्तश्राप भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सुत्केरीको बाटोमा मृत्यु भएको हो । कालिकोटको नरहरीनाथ गाउँपालिका–७ की २० वर्षीया मिना शाहीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा शुक्रबार दिउँसो तीन बजे मृत्यु भएको हो ।

दोस्रो बच्चा जन्माएकी मिनालाई स्वास्थ्य संस्थाबाट सुत्केरी गराउन अस्पताल जानु भन्ने सुझाव दिए पनि घरमै सुत्केरी गराउँदा उनको बच्चा पनि मरेको जन्मेको स्थानीय स्वास्थ्य चौकीकी अनमी बिमला बुढाले बताइन् । मरेको बच्चा जन्माएकी मिनालाई साल नफुके पनि पाँच दिनसम्म घरमै राख्दा उनी गम्भीर भएकी थिइन् ।

शुक्रबार मध्यान्न १२ बजेतिर जिल्ला अस्पताल कालिकोटमा बेहोस अवस्थामा पुर्याइएकी मिनालाई बचाउन नसकिने अवस्था देखिपछि प्रदेश अस्पतालमा रेफर गरिएको जिल्ला अस्पताल कालिकोटका डाक्टर भिष्म पोखरेलले जानकारी दिए । लामो समयसम्म रक्तश्राप हुँदा पनि घरमै राखेकै कारण मिनाको ज्यान गएको उनको भनाई छ।

अहिले पनि कर्णालीका ग्रामीण क्षेत्रका कतिपय गर्भवतीले चेतनाको अभावले होस् वा भौगोलिक विकटताले होस् अस्पताल जानै नपाई बाटैमा मृत्युवरण गर्नुपर्ने अवस्था छ । दुईदिन अघि मात्रै हुम्लाको सर्केगाड गाउँपालिकामा पनि एक महिला तीन दिनदेखि स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसक्दा अन्ततः मरेको बच्चा जन्माएकी थिइन् । प्रदेश सरकारलाई उद्धारका लागि अनुरोध गरे पनि समयमै हेलिकप्टर नपुग्दा उनले मरेको बच्चा जन्माइन् । उनको ज्यान भने जोगिएको छ ।

एम्बुलेन्स नहुँदा सास्ती 

यस्तै जिल्ला अस्पताल कालिकोटमा एम्बुलेन्स सेवा नहुँदा बिरामीहरू मर्कामा परेका छन् । तीन महिनाअघि एम्बुलेन्स दैलेखको जिरो पोन्टनजिकै दुर्घटना हुँदा अहिलेसम्म जिल्ला अस्पतालले नयाँ एम्बुलेन्स पाउन सकेको छैन् । जसका कारण अहिले बिरामीलाई पायक परेको खण्डमा प्रहरीको भ्यानले ओसारीरहेको छ भने अन्य बिरामीहरुले महंगो खर्चेर गाडी रिजर्ब गर्ने गरेका छन् ।

कर्णाली राजमार्गको जुम्ला सुर्खेत सडकखण्ड तथा कर्णाली करिडोरसँग जोडिएका स्थानीय तहहरुमा एम्बुलेन्स सेवा सुचारु नहुँदा बिरामीलाई स्वास्थ्य सस्ंथासम्म लिन अन्य असुरक्षित सवारी साधन तथा स्टेचर, डोकोको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । जिल्ला अस्पताल कालिकोटका इमरजेन्सी ईन्चार्ज दीपबहादुर रावलले दैनिक जसो बिरामी लिनका लागि एम्बुलेन्सको माग हुने गरे पनि एम्बुलेन्स नहुँदा सेवा दिन नसकेको बताए । यस्तै नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कालिकोटको एम्बुलेन्स पनि केही महिनादेखि बिग्रिएर थन्किएको छ । 

प्रतिक्रिया दिनुहोस्