साफ महिला च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल समूह विजेता



काठमाडौं : नेपाल पाँचौं महिला साफ च्याम्पियनसिप अन्तर्गत समूह ‘ए’ को विजेता बनेको छ । विराटनगरस्थित सहिद रंगशालामा शनिबार सम्पन्न समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई ३–० ले पराजित गर्दै नेपाल समूह विजेता बनेको हो । पराजित बंगलादेश भने उपविजेतामै सीमित बन्यो ।

नेपालको जितमा सावित्रा भण्डारी र मञ्जली कुमारी योञ्जनले एक –एक गोल गर्दा एक गोल आत्माघाति उपहार पाएको हो । नेपालले ३ वटै गोल पहिलो हाफमा गरेको थियो । सुरुवातबाटै निकै आक्रामक फुटबल खेलेको नेपालले छैटौं मिनेटमै आत्मघाती गोल उपहार पाएको थियो। बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनले हेडमार्फत गोल बचाउन खोजे पनि उक्त बलले सीधै आफ्नै गोलपोस्टको दिशा लिएको थियो।

पाँचौं मिनेटमा स्ट्राइकर सावित्रा भण्डारीले वान भर्सेस वानमा गोल गर्न चुकेकी थिइन्। त्यसको केही समयपछि कप्तान नीरु थापाले वान भर्सेस वानमा पाएको अर्को सुन्दर अवसर खेर फाल्दा नेपाल अग्रता बढाउने मौका गुमाएको थियो । २३ औं मिनेटमा नेपालले सावित्राको गोलमा अग्रता दोब्बर बनायो। बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई विट गर्दै उनले उत्कृष्ट गोल गरेकी थिइन्। योसँगै सावित्राको अन्तर्राष्ट्रिय गोल संख्या २४ पुगेको छ।

लगत्तै २८ औं मिनेटमा सावित्राकै पासमा मञ्जलीकुमारीले गोल गर्दै नेपालको अग्रता तेब्बर पारिन् । पहिलो हाफमा ३–० को अग्रता लिएको नेपालले दोस्रो हाफमा भने गोल गर्न सकेन् । दोस्रो हाफमा पनि केही सुन्दर मौका पाए पनि नेपालले गोल गर्न सकेन । ९० मिनेटमा बंगलादेशको प्रहार गोल पोस्टको माथि लागेर बाहिरिएको थियो। दुवै टोली यसअघि नै सेमिफाइनलमा प्रवेश गरिसकेका छन्। नेपाल र बंगलादेशसँग भुटान पराजित भएपछि दुवै टिम एक खेलअगावै अन्तिम ४ मा प्रवेश गरेका हुन्।

भुटान नेपालसँग ३–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो। नेपाललाई समूह विजेता बन्न यो खेलमा बराबरी गरे पनि पुग्ने थियो भने बंगलादेशलाई जित्नैपर्ने दबाब थियो। मुख्य प्रशिक्षक हरि खड्काले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेका थिए। डिफेन्डर अमृता जैसीको स्थानमा पुनम जर्घामगरलाई समावेश गरिएको थियो। नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’ बाट माल्दिभ्स बाहिरिसकेकाले नेपालको भेट भारत र श्रीलंकामध्ये एक टोलीसँग हुनेछ । 

यसैबीच पुजा रानाले बंगलादेशविरुद्वको खेलबाट महिला राष्ट्रिय टोलीमा डेब्यू गरेकी छिन् । दोस्रो हाफको खेलमा उनी मनमाया लिम्बुको स्थानमा मैदान प्रवेश गरिन् । यु–१९ टिमको मुख्य सदस्य पुजा घरेलु फुटबलमा विभागीय टिम आर्मीकी डिफेन्डर हुन् ।

प्रतिक्रिया दिनुहोस्