मधेसमा निधिको ‘नौ’ मन्त्र र गगनको ‘गर्जन’



जनकपुर : नेपाल विद्युत प्राधिकरण कर्मचारी संघ (आधिकारिक ट्रेड युनियन) को दशाैं केन्द्रीय परिषद उद्घाटनमा वर्तमान सरकारको काम र कर्तव्यलाइ लिएर कांग्रेस उप–सभापति विमलेन्द्र निधि र केन्द्रीय सदस्य युवा नेता गगन थापाले असन्तुष्टि व्यक्त गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–सभापति निधिले कर्मचारीलाई कुनै बहानामा दुख दिने कार्य यो सरकारले गरे आफू र पार्टी चुप लागेर नबस्ने चेतावनी दिए । निधिले देशमा सरकार भए पनि प्रधानमन्त्री कार्यालयमा मात्र सीमित रहेको आरोप लगाए । सरकारले गरेका गलत क्रियाकलापलाई कांग्रेसले गम्भीरताका साथ हेरिरहेको भन्दै निधिले भने, ‘हामी अनुशासीत प्रतिपक्षमा छौ र सरकारले गरेका नराम्रा क्रियाकलाप हेरिरहेका छौं।’ निधिले सरकार यही गतिमा अघि बढे पाँच वर्ष नटिक्ने ठोकुवा गरे ।

ओली नेतृत्वको सरकारले मुलुकमा कर्मचारी र मजदूरको लागि एउटै पनि राम्रो काम गर्न नसकेको दावी गर्दै निधिले भने, ‘यो सरकार प्रेस स्वतन्त्रतालाइ समेत कुंठित गर्ने कार्य गरिरहेको छ ।’ निधिले उपस्थित सहभागिलाई नौ मन्त्रलाई आत्मसात गरी अघि बढ्न आग्रह गरे । उनले राष्ट्रियता, लोकतन्त्र, समाजवाद, गणतन्त्र, संघीयता, समावेशिता, धर्मनिरपेक्षता, मिश्रित निर्वाचन प्रणाली र अहिंसालाई ख्याल राख्न आग्रह गरे ।

त्यस्तै अर्का नेता गगन थापाले सरकारले गरिरहेका कामबाट देशलाई खतरा बढिरहेको आरोप लगाएका छन् । वर्तमान सरकारप्रति कडा रुपमा प्रस्तुत भएका थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै भने, ‘आज देशको ठिकेदारबाट नै देशलाई खतरा छ ।

राजा वा अन्यसँग मुलुकलाई कुनै डर छैन् तर, वर्तमान सरकारसंग डर छ ।’ वर्तमान सरकारले अदालत देखि सबैलाई बर्वाद पारेको थापाले आरोप लगाए । स्व. नेता गिरिजाप्रसाद कोइरालाले अंगालेको बाटोले नै आफूहरू यस अवस्थामा आएको भन्दै थापाले भने, ‘यसको रक्षा गर्न हामी एक हुनुपर्ने आवश्यकता छ ।’ उनले कुर्सी प्राप्तीकै लागि दुई कम्युनिस्ट पार्टी एक भएको दावी समेत गरे । 

प्रतिक्रिया दिनुहोस्