इथियोपियाले दुर्घटनाग्रस्त बोइङको ब्ल्याक बक्स फ्रान्स पठायो



अदिसअबाबा : इथियोपियाले दुर्घटनाग्रस्त इथियोपियन एयरलाइन्सको बोइङ ७२७ म्याक्स विमानको ब्ल्याक बक्सको अध्ययन तथा विश्लेषण गर्न फ्रान्स पठाएको छ। 

इथियोपियाले उक्त विमान निर्माता अमेरिकी कम्पनी बोइङलाई नै ब्ल्याकबक्स र फ्लाइट डाटा रेकर्डर नपठाएर फ्रान्स पठाउनुलाई अस्वाभाविक र बोइङलाई अझ भन्नु पर्दा अमेरिकालाई विश्वास नगरेको आकलन गरिएको छ।

इथियोपियाले सोमबार विमान दुर्घटनास्थलबाट फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर फेला पारेको थियो। फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डर दुवै पेरिसस्थित फ्रान्सेली ब्युरो अफ इन्क्वायरी एन्ड एनालिसिस फर सिभिल एभिएसन सेफ्टी (जसलाई बिइए पनि भनिन्छ) पुगिसकेको छ।

अझ खासमा इथियोपियाले अध्ययन तथा विश्लेषणका लागि ब्ल्याक बक्स जर्मनी पठाउने प्रयास गरेको थियो । तर जर्मन एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोले बोइङ कम्पनीले आफ्ना विमानमा जडान गरेको नयाँ सफ्टवेयर विश्लेषण गर्ने क्षमता आफूसँग नभएको बताएको थियो। 

तर इथियोपियन एयरलाइन्सले यूएस फेडरल एभिएसन एडमिनिस्ट्रेसन बोइङको म्याक्स मोडलका विमानको उडान रोक्न धेरै ढिला गरेकाले ब्ल्याक बक्स फ्रान्स पठाउने निर्णय गरेको जानकारी दिएको छ।

गएको आइतबार उडेको केही मिनेटमा नै दुर्घटना हुँदा चालकदलका सदस्यसहित विमानमा रहेका १ सय ५७ जना सबैको मृत्यु भएको थियो। विमानमा ३५ देशका यात्रु यात्रा गरिरहेका थिए।  

प्रतिक्रिया दिनुहोस्