गैरआवासीय नेपालीको लगानीमा ठूलोखोला जलविद्युत आयोजना



म्याग्दी : म्याग्दीको रघुगंगा गाउँपालिकाको कुइनेमंगलेमा गैरआवासीय नेपालीको लगानीमा २१ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजना निर्माण हुने भएको छ । आयोजनाको अनुमानित लागत रु ३ अर्ब ५७ करोड रहेको छ । 

जलविद्युत आयोजना निर्माणका लागि गैरआवासीय नेपालीहरूको संस्था (एनआरएन आइसीसी)ले रघुगंगा गाउँपालिकाबाट अनुमति लिई सर्वेको काम पूरा गरिसकेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । 

प्रतिमेगावाट रु १७ करोडको लागतमा निर्माण हुने सो आयोजनामा सम्पूर्ण लगानी गैरआवासीय नेपालीहरूको रहने जनाइएको छ । लगानीको सम्बन्धमा जापानका तीन विभिन्न सहरमा विशेष कार्यक्रमको आयोजना गरिएको एनआरएन जापानका महासचिव बुद्धिराज घिमिरेले जानकारी दिए । 

भेलापछि लगानीका विषयमा स्पष्ट खाका तयार हुने उनले बताए । २०७६ साल वैशाखबाटै काम अघि बढाइने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्