हेटौंडामा बर्ड फ्लू को संक्रमण



मकवानपुर : तीन नम्बर प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा बर्ड फ्लूको संक्रमण भेटिएको छ । रोग देखा परेपछि बर्ड फ्लू रोग नियन्त्रण प्राविधिक समितिको बैठक बसेर चार किल्ला तोकी रोग नियन्त्रणको प्रयास सुरु गरिएको छ । 

समितिका अध्यक्ष एवं मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार आपतकालिन बैठक बोलाई कुखुरा व्यवसायी र उपभोक्तालाई सचेत हुन आग्रह गरेका छन् । 

हेटौंडा ७ नागस्वतीका कुलप्रसाद चौलागाईंको मृत कुखुराको नमुना जाँच गर्दा बर्ड फ्लू फेला परेपछि रोग नियन्त्रण गर्न लागि परेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. चेतनारायण खरेलले बताए । 

उनका अनुसार चौलागाईंले व्यवासायिक रुपमा पालेको लेयर्स कुखुराको नमूना परिक्षण गर्दा बर्ड फ्लूको संंक्रमण फेला परेको हो । यसैबिच, जिल्ला प्रशासन कार्यालय मकवानपुरले चौहद्दी तोकी रोग नियन्त्रण गर्न कुखुरा, अण्डा र सुली समेत अन्यत्र निकासीमा रोक लगाई सूचना प्रकाशित गरेको छ । 

चौलागाईंको कुखुरा खोरको पूर्वमा वडा नम्बर ६ र ७ को सीमाना, पश्चिममा वनदेवी मन्दिर जाने बाटोको पूर्वी सीमाना, उत्तरमा बनदेवी दुग्ध उत्पादक सहकारी संस्थाको भवनको सीमानाको बाटो र दक्षिणमा अग्राठे मन्दिरको उत्तरी सीमाना परिधिभित्र कुखुरा, खण्डा र सुली समेत अन्यत्र निकासी नगर्न सूचना प्रकाशित गरिएको छ । 

फागुन दोस्रो सातापछि हेटौंडा ७ कमानेसहित जिल्लाका करिब २५ हजार बढी कुखुरा मरेको किसानहरुरूले बताएका थिए । भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र हेटौंडाका अनुसार मरेको कुखुराको दोस्रो पटक पठाएको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा परिक्षण गर्दा बर्ड फ्लू फेला परेको हो । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको पशु सेवा विभागले बुधबार पत्राचार गर्दै बर्ड फ्लू रोग नियन्त्रण (संशोधनसहित) आदेश २०६४ को दफा ६ अनुसार नियन्त्रण कार्यान्वयन गर्न मन्त्रीस्तरको निर्णय अनुसार गर्न निर्देशन दिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्