पूर्व सांसदहरू निर्वाचन प्रणालीको विरोधमा



विराटनगर : मुलुकमा भ्रष्टाचार र अनियमितता बढाएको भन्दै पूर्व सांसदहरूले विद्यमान निर्वाचन प्रणालीको विरोध गरेका छन् । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै पूर्व सांसदहरू आबद्ध संस्था पूर्व सांसद मञ्चले अहिलेको निर्वाचन प्रणालीमा असहमति जनाएको हो । 

संसद्को परामर्श दातृ अङ्गका रूपमा रहेको मञ्चले निर्वाचन प्रणालीलाई परिमार्जन र सुधार गर्नु पर्ने खाँचो औँल्याएको छ । मञ्चका उपाध्यक्ष घनेन्द्र बस्नेतले निर्वाचन प्रणालीले भ्रष्टाचारलाई संस्थागत गर्न सहयोग गरिरहेको बताए । 

उनले आर्थिक विकृति र विसङ्गति नियन्त्रण, मुलुकमा विभिन्न काल खण्डमा भएका राजनैतिक परिवर्तनबाट प्राप्त उपलब्धिको रक्षा, नेपाली जनताको परिवर्तन र उत्थानका चाहना, जनताको बलिदानी र सङ्घर्षको उपलब्धिको रक्षा, लोकतान्त्रिक गणतन्त्रको संस्थागत एवं संविधान र सङ्घीयता कार्यान्वयनको बाधक निर्वाचन प्रणाली रहेको ठहर गरिएको बताए ।

प्रत्यक्ष र समानुपातिक भनेर ‘मिक्स’ गरिएको दुई खाले निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको बताउँदै बस्नेतले यसको पीडा जनताले खेप्नु परेको बताए । ‘प्रत्यक्ष निर्वाचन प्रणालीमा एउटा उम्मेदवारले लाखौं÷करोडौं खर्च गर्नु पर्ने अवस्था ।

सामान्य हैसियतकाले चुनाव लड्न सक्ने अवस्था नै छैन,’ उनले भने, ‘जितेपछि निर्वाचनका बेला भएका खर्च असुल गर्न लाग्नु पर्ने अवस्था आउँदा मुलुकमा भ्रष्टाचार बढेर गयो । प्रत्यक्ष हटाएर समानुपातिक निर्वाचन प्रणाली लागू गरिनु पर्छ भन्ने आवाजहरू पनि बुलन्द हुन थालेका छन् ।’ 

मञ्चका महासचिव शंकरनाथ शर्मा अधिकारीले निर्वाचन प्रणालीले नीतिगत भ्रष्टाचारको आधार खडा गरिदिएको बताए । अधिकारीले अहिलेको निर्वाचन प्रणालीलाई फेरबदल गरे मात्रै भ्रष्टाचारी सोच र नीतिगत रूपमा हुने त्रुटि एवं अनियमितताको अन्त्य हुने बताए । 

मञ्चले मुलुकका सात वटै प्रदेशमा विद्यमान निर्वाचन प्रणाली, समृद्ध नेपाल र सुखी नेपालीको नारालाई सार्थक बनाउन भइरहेका प्रयास र संविधान कार्यान्वयनका सम्बन्धमा गरिएका काम एवं लोकतन्त्रको सुदृढीकरणका विषयमा जनसुझाव लिने अभियान चलाएको छ । मञ्चमा विभिन्न दलका पूर्व सांसदहरू आबद्ध छन् ।

प्रतिक्रिया दिनुहोस्