कोहलपुरमा भेटिएको बम सेनाद्वारा डिस्पोज



कैलाली : प्रहरीले कैलालीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला परिरहेको जनाएको छ। बिहीबार बिहानै कैलालीको सुक्खडमा सिलिन्डर जस्तै आकारको वस्तु सेनाले नियन्त्रणमा लिएको छ। कैलालीकै साडेपानी, जोसिपुरलगायत क्षेत्रमा यस्ता शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिए। 

उनले यस्ता कतिपय शंकास्पद वस्तु सर्वसाधारणलाई तर्साउन र झुक्याउन राखिएको भए पनि यस्ता वस्तु भेटिए सतर्क रहन आग्रह गरेका छन्। यस्ता संवेदनशील क्षेत्रमा सेनाको डिस्पोजल टोली परिचालन भएको बताउँदै त्यस्ता वस्तु नछुन र नचलाउन आग्रह गरेका छन्। 

विप्लव समूहले आह्वान गरेको बन्दमा धेरै ठाउँमा ढुंगामुढा सडकमा राखिएको छ। बन्दको अवज्ञा गर्दै गुडिरहेका सवारीसाधनमा आगजनी र तोडफोड बढिरहेकाले ठूलो संख्यामा प्रहरी परिचालन गरेको एसपी तिमिल्सिनाले जानकारी दिए। 

कोहलपुरको नेपालगन्ज सडकखण्डको राँझा चोकमा बिहीबार बिहान बम फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार राँझा चोकभन्दा केही माथि बिहान ८ बजेतिर बम फेला परेको हो। दूध राख्ने सानो भाँडोमा टेपले बेरेर राखिएको बम भेटिएको हो। सेनाको डिस्पोजल टोलीले खेतमा लगेर बम डिस्पोज गरेको छ। 

प्रतिक्रिया दिनुहोस्