बार्सिलोना च्याम्पियन्स लिगको अन्तिम ८ मा, मेस्सीकाे शानदार प्रदर्शन



काठमाडौं : कप्तान लियोनल मेस्सीले दुई गोल र दुई एसिस्ट गरेपछि स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बुधबार राति घरेलु मैदानमा सम्पन्न प्रिक्वाटरफाइनलको दोस्रो लेगमा फ्रान्सेली क्लब लियोनलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोनाले अन्तिम आठमा स्थान पक्का परेको हो।

लियोनको घरेलु मैदानमा भएको पहिलो लेगमा दुवै टोलीले गोलरहित बराबरी खेलेकाले बार्सिलोना समग्रमा ५–१ को नतिजाका साथ अघिल्लो चरणमा प्रवेश गरेको हो। खेलको १६ औं मिनेटमा लुइस स्वारेजलाई जेसन डेनाएरले पेनाल्टी क्षेत्रभित्र लडाएपछि पाएको पेनाल्टीलाई मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए। ३१ औं मिनेटमा स्वारेजको पासमा फिलिपे कौटिन्होले गोल गर्दै बार्साको अग्रता दोब्बर पारे।

पहिलो हाफमा २–० को अग्रता लिएको बार्सिलोनाविरुद्ध ५८ औं मिनेटमा लुकास टुसार्टले भलिमार्फत गोल गर्दै अन्तर कम गरेका थिए। तर, ७८ औं मिनेटमा मेस्सीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३–१ ले अगाडि बढाए।

लगत्तै ८१ औं मिनेटमा मेस्सीको पासमा जेरार्ड पिकेले गोल गर्दै अग्रता फराकिलो पारे। खेलको ८६ औं मिनेटमा मेस्सीकै पासमा ओस्मान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई ५–१ को फराकिलो जित दिलाए। अब क्वाटरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ। 

प्रतिक्रिया दिनुहोस्