माइभ्याली गोल्डकप : थ्री स्टारलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा



इलाम : हिमालयन शेर्पा क्लब इलाममा जारी पाँचौं संस्करणको माइभ्याली गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सदरमुकामको ठूलो टुँडिखेलमा मंगलबार सम्पन्न दोस्रो क्वाटरफाइनल खेलमा साविक विजेता रुस्लान थ्री स्टार क्लबलाई ३–१ ले पाखा लगाउँदै हिमालयन शेर्पाले अन्तिम चारमा स्थान बनायो ।

शेर्पाको जितमा विजय श्रेष्ठ, त्रिदेव गुरुङ र सुनील खड्काले गोल गरे । अनिल गुरुङले सुरुवाती गोल गरे पनि अग्रता जोगाउन नसक्दा थ्री स्टार पराजित भयो । खेलको म्यान अफ् दि म्याच हिमालयन शेर्पाका उल्रिस शिव घोषित भए । उनले नगद १० हजार प्राप्त गरे । प्रतियोगितामा बिहीबार विभागिय टिम सशस्त्र प्रहरी बलको (एपिएफ) र क्यामरुनको दाउफिन्स एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

चैत ५ सम्म चल्ने प्रतियोगितामा आयोजक माइभ्याली क्लबसहित साविक विजेता रुस्लान थ्रिस्टार, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बलको एपिएफ, हिमालयन शेर्पा, मेची नेत्रालय काकडभिट्टा, क्यामरुनको दाउफिन्स एफसी, दार्जिलिङ युनाइटेड र हङकङको नेप्लिज फुटबल क्लबको सहभागिता छ । प्रतियोगिताको विजेताले ७ लाखसहितको ‘मेयर्स कप’ र उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन् । 

प्रतिक्रिया दिनुहोस्