विप्लव माओवादीविरुद्ध प्रहरीको यस्तो छ ‘एक्सन’ को तयारी



काठमाडौंः सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कार्बाही अघि बढाउने रणनीति अगाडि सारेको छ । सरकारको निर्देशन आएपछि त्यसैअनुसार अघि बढ्ने प्रहरीको भनाई छ । प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधैँ लागिरहेको भन्दै सरकारको निर्णय प्राप्त भएपछि त्यसैअनुसार निगरानी बढाइने बताएका छन् ।

हिंसात्मक र आपराधिक गतिबिधि गर्ने छुट कसैलाई नभएको भन्दै उनले त्यस्ता गतिबिधि गर्ने जोकोहीलाई प्रहरीले कार्बाही गर्ने बताएका छन् । सरकारले मंगलबार मात्रै विप्लव नेतृत्वको नेकपाका गतिबिधिलाई आपराधिक ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको हो ।

वार्तामा आउन पटक–पटक आग्रह गर्दा पनि वास्ता नगरी हिंसात्मक गतिबिधि बढाएकाले त्यस्ता गतिबिधि नियन्त्रण गर्ने निष्कर्षमा पुगेको सरकारको भनाई छ । विप्लव नेतृत्वको नेकपाले पछिल्लो समय विष्फोट, आगजनी र चन्दा असुली तीव्र बनाएपछि सरकारले यो समूहलाई आपराधिक समूहको रुपमा लिएको हो । सरकारले विप्लव माओवादीमाथि प्रतिबन्ध घोषणा गर्नुअघि नै प्रहरीले विप्लवका कार्यकर्ताहरुमाथि निगरानी बढाइसकेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्