भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा  शक्तिशाली बम बिस्फोट, भवन क्षतिग्रस्त



चितवनः चितवनकाे भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएकाे छ। बुधबार मध्ये राित शक्तिशाली सिलिण्डर बम बिस्फाेट गराइएकाे जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसींह राठौरले जानकारी दिए।

प्रहरी उपरीक्षक राठाैरका अनुसार बिस्फोटका कारण वडा कार्यालय भवन क्षतिग्रस्त भएको छ। 'घटना राति साढे १२ बजेतिरको समयमा भएकाे हाे', उनले भने, 'बम विस्फोटबाट कार्यालय भवन क्षतिग्रस्त भएकाे छ, तर रातकाे समयमा कार्यालयमा काेही पनि नरहने भएका कारण कुनै पनि मानवीय क्षति भएकाे छैन।' उनका  अनुसार विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेका, घर चर्किएकाे तथा विस्फोटपछिको आगजनीबाट कार्यालयमा रहेका कागजपत्र जलेर नष्ट भएका छन्।

शक्तिशाली सिलिण्डर बम बिस्फोटपछि भवनमा आगलागी भएको थियो। विस्फाेट तथा आगलागीकाे खबर पाए लगत्तै प्रहरी घटनास्थल पुगेकाे र भरतपुर महानगरकाे दमकल तथा स्थानीयकाे सहयाेगमा आगाे निभाइएकाे प्रहरी उपरीक्षक राठाैरले बताए। राठौरले घटना नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वकाे नेकपाले गराएको अनुमान गरिएको बताए ।

उनका अनुसार बिस्फोट कसले गराएको हाे भन्ने सम्बन्धमा हालसम्म केही खुलेकाे छैन। प्रहरीले अनुसन्धान अघि बढाएकाे उनले जानकारी दिए। तर यता  मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका गतिविधि आपराधिक भएको ठहर गर्दै त्यसलाई नियन्त्रण गर्ने निर्णय गरेको थियाे । सरकारले आफूमाथि लगाएकाे प्रतिबन्धकाे प्रतिकार स्वरुप विप्लव समूहले बिस्फाेट गराएकाे हुनसक्ने प्रहरीले आशंका गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्