संघीयता र धर्मनिरपेक्षता जबर्जस्ती लादियो, अब हेरेर मात्र बस्दैनौं : कमल थापा



रुपन्देही : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको इसारामा नेपालाई धर्मनिरपेक्ष राष्ट्र कायम गरिएको आरोप लगाएका छन्।

हिन्दुराष्ट्र कायम गराउन दबाब दिने बेला आएको पनि उनले बताएका छन्। हिन्दू राष्ट्र कायम गर्ने मुख्य एजेन्डासहित मेची–महाकाली राष्ट्रिय स्वाधीन यात्रा थालेको राप्रपाले सोमबार बुटवलमा आमसभा गरेको हो। 

उक्त सभालाई सम्बोधन गर्दै नेता थापाले भने, ‘जनआन्दोलनमा धर्म निरपेक्ष र संघीयताका विषय जनताले उठाएका थिएनन्, यो जबरर्जस्ती लादिएको हो।’ नेपाल सनातन हिन्दूहरुको देश भएको बताउँदै उनले अब हेरेर बस्ने अवस्था नरहेको बताए। 

‘राजसंस्था अन्त्य हुने बित्तिकै देशमा जनताको जीवनस्तर सुध्रने बताइए पनि त्यस्तो देखिएन’, उनले थपे, ‘देश अहिले इतिहासकै सबैभन्दा ठूलो संकटमा छ।’ बढ्दो भ्रष्टाचार, असुरक्षा तथा देश विखण्डन हुने खतरामा रहेको भन्दै उनले चिन्ता व्यक्त गरे। 

२०५२ सालदेखि माओवादीले थालेको युद्धले १७ हजारको मृत्यु भएको बताउँदै परिवर्तनलाई संस्थागत गर्ने नाममा देशलाई बर्बाद बनाइएको भन्दै त्यसको विरोध गरे। 

वर्तमान सरकारले हालै तराई विखण्डनवादी नेता सीके राउतसँग गरेको सम्झौता कुटिल, भ्रमपूर्ण र रहस्यमय भएको बताए।  जनकपुरमा सीके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगो भएको  उनको टिप्पणी थियो। 

 

प्रतिक्रिया दिनुहोस्