सरकार र सीके राउतबीचको सम्झौता स्पष्ट पार्न थापाको माग



कैलाली : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सम्झौता स्पष्ट नभएको बताएका छन् । कैलालीको टीकापुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले सरकार र राउतबीचको सम्झौता दोहोरो अर्थ लाग्ने भएकाले सम्झौता स्पष्ट नभएको बताएका हुन् ।

विखण्डनकारी मुद्दा छोडेर मुलधारमा आउनु सकारात्मक रहेपनि सम्झौतामा उल्लेख गरिएका शब्दले स्पष्ट अर्थ नदिएको थापाको भनाई थियो । ‘सम्झौतामा मधेशको मुद्दा जनअभिमतबाट टुंग्याउने भनिएको छ, जनमत संग्रह वा आवधिक निर्वाचन जे भने पनि मुलुकको अखण्डता टुक्राउने अधिकार कसैलाई छैन’, थापाले भने, ‘भोट हालेर मुलुकको सीमाना टुक्राउन मिल्छ ? संविधानमै मुलुकको अखण्डता अपरिवर्तनीय छ ।’

थापाले सम्झौतामा प्रयोग भएको भाषाको वास्तविकताबारे सरकारले चाँडै धारणा सार्वजनिक गर्नुपर्ने बताए । माओवादी जनयुद्ध र दोश्रो जनआन्दोलनको उद्देश्य कार्यान्वयनमा त्रुटी भएको उल्लेख गर्दै थापाले लोकतन्त्रको आवरणमा लुटतन्त्र मौलाउँदै गएको आरोप लगाए । 

प्रतिक्रिया दिनुहोस्