२५ हजार क्विन्टल चामल खरिद गर्ने तयारी



कैलाली : खाद्य संस्थान सेती अञ्चल कार्यालय धनगढीमा खाद्यान्नको अभाव भएपछि बाहिरबाट चामल खरिद गर्ने तयारी गरेको छ । बिचौलीयाको बिगबिगी र समयमा धान खरिद गर्न नपाएको खाद्य संस्थानले चामल अभाव भएपछि बाहिरबाट चामल खरिद गर्ने तयारी गरेको हो ।

विगतका वर्षहरू ६० देखी ७० हजार क्विन्टल धान खरिद गर्ने संस्थानले यस वर्ष २१ हजार क्विन्टल धान मात्र खरिद गर्न सकेको खाद्य संस्थान सेती अञ्चल प्रमुख प्रेमसिंह भण्डारीले जानकारी दिए । बिचौलीयाहरूले किसानबाट धान खरिद गरिसकेको र आफूहरूले समयमा धान खरिद गर्न नसक्दा बाहिरबाट चामल आयात गर्नुपरेको कार्यालय प्रमुख भण्डारीको भनाई छ ।

उनले हाल संस्थानको गोदाममा ११ हजार क्विन्टल खाद्यान्न भण्डारण भए पनि झण्डै २५ हजार क्विन्टल चामल बाहिरबाट खरिद गर्न लागेको बताए । सुदूरपश्चिम प्रदेशका बाजुरा, बैतडी, अछाम, बझाङ लगायत नौ ओटै जील्लाका लागी संस्थानले खाद्यान्न ढुवानी गर्छ ।

चामल, पिठो, दाल लगाएतका खाद्यान्न सरकारी दर रेटमा बजारमुल्य भन्दा केही सस्तो संस्थानले दिने गरेको छ । सुदूरपश्चिम प्रदेशमा वार्षीक एकलाख क्विन्टल खाद्यन्न बिक्री वितरण गर्दै आएको संस्थानले यस वर्ष ५४ हजार क्विन्टल मात्र बिक्री गरेको छ । 

प्रतिक्रिया दिनुहोस्