वडाध्यक्षसहित २ सय कार्यकर्ता नेकपामा प्रवेश 



वीरगन्ज  : संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित पर्साको छिपहरमाई गाउँपालिकाका वडा अध्यक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । नेकपाले पर्साको भिस्वा उच्च मावि प्राङ्गणमा आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रममा वडा अध्यक्ष राजबली यादव फोरम नेपाल परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् ।

यादव सहित गाउँपालिकाका सदस्य तथा अन्य प्रभावशाली नेतासहित करिब २ सय नेकपामा प्रवेश गरेका हुन् । नव प्रवेशीलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्वागत गरेका थिए । उनले नवप्रवेशीलाई अबिर र माला लगाई नेकपामा प्रवेश गराएका थिए । पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पण्डितले वर्तमान सरकार राजनीतिक निकासबाट निर्माण भएको र अब यो सरकारको प्रमुख एजेण्डा मुलुकलाई सम्वृद्ध बनाउनु रहेको बताए ।

मन्त्री पण्डितले मुलुकलाई सम्वृद्ध बनाउन तराई मधेश क्षेत्रमा पिछडिएको स्थानीय तहको पहिचान गरी संघीय सरकारले तराई मधेश सम्वृद्धि अभियान चलाएको बताए । पिछडिएको क्षेत्रलाई पहिचान गरी अहिले स्वास्थ्य, शिक्षा, विद्यालय, सडक, लगायतका आवश्यक पूर्वाधारको लागि तराई मधेश क्षेत्रको लागि विशेष प्याकेज संघीय सरकारले छुट्याएको जानकारी समेत उनले गराए ।

स्थानिय तहमा देखिएको कर्मचारी अभाव केहि दिनभित्र समाधान हुने बताउँदै मन्त्री पण्डितले भने, ‘कर्मचारी समावेजनको टुङ्गो लागिसकेको र केहि दिन भित्र दरबन्दी अनुसारको कर्मचारी स्थानीय तहमा पुग्ने छ ।’ गाउँ पालिकाको अध्यक्ष मनोज गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य नागेन्द्र चौधरी, पूर्व सांसद जय प्रकाश थारु, जुनैद अन्सारी, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया, ठोरी गाउँपालिकाको अध्यक्ष पिएल श्रेष्ठ, लगायतकाले नवप्रवेशीलाई स्वागत गर्दै मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस्