५८ वर्षमा १ सय २४ दुर्घटना, १ सय ६७ को निधन



काठमाडौं : नेपालमा हवाई सेवा सुरु भएको ७९ वर्ष भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणको तथ्यांकले सन् १९६१ मा पहिलो नेपालमा हवाई दुर्घटना भएको थियो । ५८ वर्षमा नेपाली आकाशमा १ सय २४ हवाई दुर्घटना भइसकेको छ, जसमा १ सय ६७ जनाले ज्यान गुमाएका छन् । 

नेपालमा भएको हवाई दुर्घटनामा २८ जहाज, १६ हेलिकप्टर र ३ अन्तर्राष्ट्रिय हवाई दुर्घटना भएका छन् ।

सन् १९७९ नोभेम्बर २७ मा लाङटाङमा हेलिकप्टर दुघर्टना हुँदा ६ जना, १९९७ अक्टोबर ३० मा कर्णाली एअरको हेलिकप्टर दुघर्टना हुँदा १ जना, १९९८ अक्टोबर २४ मा एसियन एअरलाइन्सको हेलिकप्टर मूलखर्कमा दुर्घटना हुँदा ३ जनाको ज्यान गयो । 

सन् २००१ नोभेम्बर १२ मा फिस्टेल एयरको हलिकोप्टर मुगुमा दुर्घटना हुँदा ४ जना, २००३ मे २८ मा सिम्रिक एयरको हेलिकप्टर एभरेस्ट बेसक्याम्पमा दुर्घटना हुँदा २ जना, २००५ जनवरी ४ मा एयर डाइनेस्टीको हेलिकप्टर रामेछापमा दुर्घटना हुँदा ३ जना तथा २००६ अगस्ट २९ मा श्री एयरलाइन्सको हेलिकप्टर ताप्लेजुङको घुन्सामा दुर्घटना हुँदा २४ जनाको ज्यान गएको थियो ।

यस्तै २००९ सेप्टेम्बर १५ मा मनाङ एयरको हेलिकोप्टर हुम्लामा दुघर्टना हुँदा १ जना, २०१० सेप्टेम्बर ७ मा फिस्टेल एअरको हेलिकप्टर आमदब्लाम हिमालमा दुर्घटना हुँदा २ जना, २०१३ जुन १९ मा फिस्टेलकै हेलिकप्टर सिमिकोटमा दुर्घटना हुँदा १ जना, २०१४ अगस्ट ३ मा फिस्टेलकै हेलिकप्टर सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १ जना, २०१५ मे १२ मा भूकम्पपीडितको राहत बोकेको

अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोकमा भएको  दुर्घटनामा ११ जनाको ज्यान गएको थियो ।

सन् २०१५ जुन २ मा माउन्टेन हेलिकोप्टर दुर्घटना सिन्धुपाल्चोकमा हुँदा ४ जनाको ज्यान गएको थियो । सन् २०१६ अगस्ट ८ मा फिस्टेल एयरको हेलिकप्टर नुवाकोटमा दुर्घटना सुत्केरीसहित ७ जनाको ज्यान गयो । सन् २०१८ सेप्टेम्बर ८ मा गोरखाबाट उडेको हेलिकप्टर धादिङमा दुघर्टना भयो । अल्टिच्युट एअरको हेलिकप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो । बुधबार ताप्लेजुङमा एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा पर्यटनमन्त्रीसहित ७ जनाको ज्यान गयो ।

सन् १९६१ मे ११ मा भैरहवामा भएको नेपाल वायुसेवा निगमको जहाज दुर्घटनामा ४ जनाकोे ज्यान गएको थियो । निगमकै जहाज १९७५ मार्च ३१ मा काठमाडौंको बौद्धमा दुर्घटना हुँदा ५ जना, १९८१ अक्टोबर ३० मा विराटनगरमा दुर्घटना हुँदा १० जना र १९८४ नोभेम्बर २२ मा दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । 

१९९३ जुलाई ३१ मा एभरेस्ट एयरको जहाज दुघर्टना हुँदा १८ जनाको मृत्यु भएको थियो । १९९५ जनवरी १७ मा निगमकै जहाज दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो । सन् १९९८ अगस्ट २१ मा एएसडी क्यानको जहाज दुर्घटनामा १८ जनाको ज्यान गयो भने त्यही वर्षको डिसेम्बर २० मा निगमकै जहाज सोलुखुम्बुमा दुघर्टना हुँदा १ जनाको ज्यान गयो । 

सन् १९९९ जनवरी १७ मा नेकोन एयरको जहाज जुम्लामा दुर्घटना हुँदा ५ जनाले ज्यान गुमाए भने त्यही वर्षमा अक्टोबर ५ मा निकोन एयरको जहाजको दुर्घटना थानकोटमा भयो, जसमा १५ जनाको ज्यान गयो । त्यही वर्ष नोभेम्बर २५ मा स्काइलाइन एयरवेजको जहाज मकवानपुरमा दुर्घटना हुँदा १० जनाको ज्यान गयो ।

२००० फेबु्रअरी २६ मा निगमको जहाज बझाङमा दुर्घटना हुँदा एकजनाले ज्यान गुमाएका थिए । त्यही वर्ष जुलाई २७ मा निगमको ट्विनअटर विमान बझाङबाट डडेलधुरा जानेक्रममा दुर्घटना हुँदा २५ जनाले ज्यान गुमाएका थिए । २००२ जुलाई १७ मा स्काइलाइन एअरलाइन्सको जहाज सुर्खेतमा दुर्घटना हुँदा ४ जनाको ज्यान गयो भने त्यही वर्ष अगस्त २२ मा सांग्रिला एयरको ट्विनअटर विमान पोखरामा दुर्घटना हुँदा १८ जनाको ज्यान गयो । 

२००४ अप्रिल २१ मा बुद्ध एयरको जहाज त्रिभुवन विमानस्थलमा दुघर्टना हुँदा एकजना र त्यही वर्ष मे २५ मा यति एयरलाइन्सको ट्विनअटर विमान लुक्ला विमानस्थलनजिक लाम्जुरा पहाडमा ठोक्किएर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो । सन् २००६ जुन २१ मा यति एयरलाइन्सको ट्विनअटर जहाज जुम्ला विमानस्थलमा दुर्घटना हुँदा ९ जना, २००८ अक्टोबर ८ मा अवतरणका क्रममा जुम्ला विमानस्थलमा यति एयरलाइन्सको जहाज दुघर्टना हुँदा १८ जना, २०१० अगस्ट २४ मा अग्नि एयरको जहाज मकवानपुरमा दुर्घटना हुँदा १४ जना तथा २०१० डिसेम्बर १५ मा तारा एयरको ट्विनअटर जहाज ओखलढुंगाको मानेडाडाँमा दुघर्टना हुँदा २२ जनाको मृत्यु भएको थियो ।

यस्तै २०११ सेप्टेम्बर २५ मा ललितपुरको विशंखु नारायणमा बुद्ध एयरको विमान दुर्घटना हँुदा १९ जना, २०१२ मे १४ मा अग्नि एयरको डोर्नियर जहाज जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १५ जना र त्यही वर्ष सेप्टेम्बर २८ मा सीता एयरको डोर्नियर जहाज भक्तपुरको मनोहरा किनारमा खस्दा १९ जना, २०१४ फ्रेबुअरी १६ मा निगमको ट्विनअटर जहाज अर्घाखाँचीको खिदिममा दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए । 

२०१६ फ्रेबुअरी २४ मा तारा एयरको फ्लाइट–१९३ दुर्घटना हुँदा २३ जनाको मृत्यु भयो । त्यही वर्ष फ्रेबुअरी २६ मा एअर काष्ठमण्डप जहाज कालिकोटमा दुर्घटना हँुदा २ जना, २०१७ मे २७ मा गोमा एयरको कार्गो जहाज लुक्लामा दुर्घटना हुँदा २ जना र २०१८ मे १६ मा सुर्खेत विमानस्थलबाट हुम्लाको सिमिकोट उडेको मकालु एअरको विमान दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको थियो ।

सन् १९९२ जुलाईमा ३१ थाइ एयरलाइन्सको जहाज काठमाडौंमा अवतरण गराउने क्रममा पहाडमा ठोक्किएर दुर्घटना हुँदा चालक दलका १४ सदस्यसहित १ सय १३ जनाको ज्यान गएको थियो । त्यही वर्ष सेप्टेम्बर २८ मा पाकिस्तान एयरलाइन्सको फ्लाइट–२६८ त्रिभुवन विमानस्थानमा अवतरणका क्रममा भएको दुर्घटनामा  १ सय ६७ जनाको ज्यान गएको थियो । सन् २०१८ मार्च १२ तारिखका दिन युएस–बंगलाको विमान त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटना हुँदा ४९ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्