रवीन्द्र भन्थे, ‘ मैले गर्नुपर्ने कामहरूचाहिँ सबै टुंगोमा पुर्याउँछु ’



(संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका थिए दिवगंत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले उनलाई ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्मेवारी’ मात्र उल्लेख गरेको आरोप उनीमाथि लाग्यो । मन्त्रीबाट राजीनामा दिनुपर्ने माग विपक्षी दलहरूले गरे ।

वाइडबडी खरिद प्रक्रियामा लागेको आरोपको खण्डन यसरी गरेका थिए  अधिकारीले )

वाइडबडीका खरिद प्रक्रियाहरू पहिले नै सकिएको हो । म आएपछि जहाजमात्रै आएको हो । यो खरिद प्रक्रियामा मेरो कुनै संलग्नता नै छैन । जुन कुरामा संलग्ना नै छैन, नियतवश र योजनाबद्ध ढंगले अगाडि ल्याउन खोजियोे त्यसबाट त मैले किन डराउनु ? म मन्त्री भएपछि दुईवटा किस्तामा रकम गयो । पैसा जाने भनेको खरिदबिक्री सम्झौता (सेल्स एन्ड पर्चेज एग्रिमेन्ट)अनुसार हो । बैना अगाडि गइसकेको छ, पहिलो किस्ता गइसकेको छ । त्यसकारण बाँकी रकम पनि आफ्नो प्रक्रियाबाट गएको हो । मेरो हस्ताक्षरबाट, मेरो निर्णयबाट एक रुपैयाँ पनि गएको छैन ।

त्यसकारण बदनियतपूर्वक मलाई कमजोर बनाउनका लागि यो आरोप लगाइएको थियो । म दोषी हुन्थेँ वा यसमा मेरो सामान्य भूमिका पनि हुन्थ्यो भने मेरो अन्तरमनलाई त महसुस हुन्थ्यो होला नि । मलाई त्यस्तो केही पनि महसुस छैन । जब मेरो केही संलग्नतै छैन भने मैले नैतिकता भनेर त्यत्तिकै पद छाड्ने कुरा हुँदैन । अर्को जिम्मेवारीको कुरा पनि हो । नैतिकता भनेर जिम्मेवारीबाट भाग्ने कुरा पनि हुँदैन । म मन्त्री भएका बेला जहाज आएको छ । त्यसका लागि दुईवटा किस्ता पनि मेरो कार्यकालमा गएका हुन् । मैले ती किस्ता रोकेको भए के हुन्थ्यो ? मान्छेहरूको प्रश्न यो छ । कतिपयले रोक्नुपथ्र्यो भन्छन् । त्यसो गरेको भए दिइसकेको पहिलो किस्ता र बैना गरी करिब १० अर्ब रूपैयाँ राज्यको डुब्थ्यो । जहाज आउँदैनथ्यो । जहाज नआएपछि हामीले प्रत्येक दिन धेरै क्षतिपूर्ति तिर्दै जानुपथ्र्यो । त्यसकारण यो विषयलाई तानेर मलाई पछार्न सकिन्छ कि भन्ने बदनियत राखेर केही व्यक्तिहरू लागेका छन् । नियतवश उठाइएकाले मैले यसलाई नैतिकताको विषय ठानिनँ ।

 

मैले संसदीय समितिमा जवाफ दिँदाखेरि उहाँ(महालेखा परीक्षक)सँग सोधेको, सल्लाह गरेको भनेर कहिल्यै भनेको छैन । त्यतिबेलाको रेकर्ड हेर्दा पनि हुन्छ । उहाँसँग सोधेका कारणले नै मैले भुक्तानी दिएको हुँ भनेर अन्त पनि कहीँ बोलेको छैन । मैले महालेखाको आड लिएको पनि होइन, भरोसा लिएको पनि होइन । तर, अनौपचारिक हिसाबले विभिन्न ठाउँहरूमा कुरा भएको हो । यस्तो बेलामा के गर्ने भन्ने विषयमा सन्दर्भ छलफल त विभिन्नसँंग भयो । पहिला जहाज आउँदैन भन्ने भयो । जहाज छ कि छैन हेर्न पठाउनुपर्छ भन्ने कुरा पनि आयो । जहाज आउने नै भयो । अनेकौँ प्रसंग आए, ती आउँदाखेरि यसमा के गर्ने भन्ने अनौपचारिक छलफल हुन्छ, भएका पनि हुन् । यसलाई बढाउनुपर्ने कुनै कारण थिएन । मैले पनि अनौपचारिक रूपमै लिएको थिएँ, मानेको थिएँ । तर, त्यसैलाई नै इस्यु बनाइदिए ।

 

संसद्का समितिहरूले गरेको कार्यसम्पादन, हात हालेका विषय टुंगोमा र्पुयाउनेलगायतका विषयबारे अहिले पनि तपाईंले रेकर्ड हेर्नुभयो भने सबैभन्दा बढी काम मैले जिम्मेवारी लिएका बेला भएका छन् । कतिपय विषयचाहिँ एउटाको क्षेत्राधिकारभित्रको हुन्छ, त्यसमा अर्कोले हात हाल्छ, फेरि अर्को पनि त्यसैमा आउँछ । अब त्यसमा त मेरो केही लाग्ने कुरा भएन । तर, मैले आफूले गर्नुपर्ने कामहरूचाहिँ सबै टुंगोमा र्पुयाउँछु । अहिले पनि खोज्नुस्, संसद्का समितिमा आएका विषयहरू सबै निरूपण गरेको छु । कतिपय सरकारलाई गरेका निर्देशनहरू छन् । ती निर्देशन पालना नहुँदा किन नगरेको भनेर पनि सोधेको छु । विषयलाई ल्याएर लथालिंग छाडेको छैन । हात हालेका सबै विषय टुंगामा र्पुयाएको छु ।

 

(उनको व्यक्तिगत पेजबाट)

 

प्रतिक्रिया दिनुहोस्