मिसन दहेजमुक्त समाज, जुर्मुराए मधेसका अगुवा



जनकपुरधाम : महिलामाथि हुने भेदभाव र हिंसाका दृष्टिले अत्यन्त संवेदनशील एवं जोखिमपूर्ण मानिएको प्रदेश २ मा दाइजोविरुद्ध अभियान तीव्र बनाइएको छ । संस्कार र रीतिका नाममा बेहुली पक्षबाट द्रव्यदानको अपेक्षा गर्ने र थरीथरीका परिबन्दमा पारेर चर्को रकम तथा जिन्सी असुल्नेहरू यस अभियानबाट निरुत्साहित हुने विश्वास गरिएको छ । 

दहेज लेनदेनको सामाजिक स्वीकृतिका विरुद्ध अहिले जनकपुरका मुस्लिम धर्मगुरु मौलानाहरू अघि सरेका छन् । परम्परापोषणको आडमा कट्टरता र अन्धानुकरण गर्ने गराउने आरोप खेप्दै आएका मौलानाहरूले पिराहा दाइजोप्रथा मान्नेलाई सामाजिक बहिष्कार गर्नेसम्मको चेतावनी दिएका छन् । अर्कातिर बाजेबराजुका पालादेखि मानिँदै आएका कुनै पनि चलनमा तलमाथि हुँदा आकाश फाट्ने र धरती भासिने सोच भएका जातीय माइजन(खास जातिको निर्णयकर्ता)हरू सिरहाको लहानमा दाइजो लेनदेन भएका विवाहोत्सवमा सहभागी नहुने घोषणा गरेका छन् ।

गत साता जनकपुरमा मुस्लिम समुदायका धर्मगुरुको एक समूहले दाइजोप्रथाको विरोधमा एउटा अन्तक्र्रियाको आयोजना गर्यो । सञ्चारकर्मीसमेतको उपस्थितिमा गरिएको उक्त अन्तक्र्रियामा दाइजोका कारण इस्लाम धर्मालम्बीहरूको आस्थामा चोट पुगेको र सिंगो मुस्लिम समुदायको गरिमा संकटमा परिरहेको औंल्याइएको थियो । यसै चिन्ताका कारण धर्मगुरुहरूले दहेजविरुद्ध कडा कदम चाल्ने सामूहिक प्रतिबद्धता व्यक्त गरे । 

मुसलमान समुदायमा दाइजोप्रथा चरमोत्कर्षमा पुगेको केही वर्षयता भ्रुणपरीक्षण र भ्रुणहत्या हुने क्रम बढेका छन् । दाइजोबापत बेहुलालाई मोटो रकम दिनुपरेपछि कतिपय मुसलमान घरवारविहीनसमेत बनेका छन् ।

त्यसैले अन्तरक्रियामा उपस्थित धर्मगुरुहरूले दाइजो लिनेलाई सामाजिक बहिष्कार नै गर्ने निर्णय आफूहरूले गरेको सुनाए । ‘अबदेखि दाइजो लिनेलाई जनकपुरमा सामाजिक बहिष्कार गरिनेछ,’ राष्ट्रिय मुस्लिम संघर्ष समिति गठबन्धन धनुषाका प्रवक्ता मोहम्मद साजिद हुसैनले भने ।

जनकपुरमा मात्रै ५० हजार मुस्लिमको बसोबास रहेको समितिको तथ्यांकमा छ । दाइजोविरोधी अभियान धनुषा जिल्लाभरि नै सञ्चालन गरिने मुस्लिम धर्मगुरुहरूको तयारी छ । अभियानको नाम ‘मिसन दहेजमुक्त समाज’ दिइएको छ ।

यसरी नै दाइजोविरोधी अभियानको शंखघोष सिरहा, लाहनलगायत ठाउँका जातीय माइजनहरूले पनि गरेका छन् । गत आइतबार जातीय माइजनहरूले प्रहरी प्रशासनलाई साक्षी राखेर दाइजो लिनेको विवाहमा जन्तीसमेत नजाने घोषणा गरे ।

सिरहाको लहानमा समग्र जनउत्थान केन्द्र र महिला पुनस्र्थापना केन्द्रको सहयोग र नागरिक सहकार्य मञ्च लहानको आयोजनामा लहान नगरपालिकामा विभिन्न जातजातिका माइजनहरूको प्रथम भेलाबाट गठित जातीय माइजन समन्वय समितिद्वारा ‘समुदायमा व्याप्त कुरीति तथा हानिकारक परम्परागत अभ्यास’ अन्त्यका लागि ७ बुँदे लहान घोषणापत्र जारी गरिएको छ । घोषणापत्रमा दाइजो लिनेको जन्ती नजाने प्रबिद्धता जनाइएको छ ।

घोषाणपत्रमा देशको संघीय संरचनाअनुसार बनेका ऐन, नियम, कानुन र नीतिलाई अवलम्बन गर्दै सामाजिक कार्यमा अविवादित भूमिका निर्वाह गर्ने, भोजभतेरका कार्यलाई स्वेच्छिक बनाउने, नयाँ मुलुकी अपराध संहिता २०७४ अनुसार २० वर्ष उमेर नपुगी गरिएका विवाहलाई बालविवाहका रूपमा लिई स्वतः बदर गर्ने र सामाजिक विकृतिका रूपमा रहेको दाइजोप्रथाको अन्त्य गर्ने आदि उल्लेख छ ।

लहान नगरपालिकाका प्रमुख मुनि साहले माइजनहरूको यस्तो निर्णय स्वागतयोग्य भएको बताए । उनले दाइजोविरोधी अभियानलाई नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जाहेर गरे ।

जनकपुरका मुस्लिम र लहानका जातीय माइजनहरूको दाइजोविरोधी अभियान उदाहरणीय र अनुकरणीय रहेको टिप्पणी अधिकारकर्मी रेखा झाको छ । झाले भनिन्, ‘जनकपुर र लहानमा शंखघोष भएको दाइजोविरोधी अभियानले मधेस अब सामाजिक बेथितिका विरोधमा जुर्मुराउँदै गएको छनक दिन्छ । अन्य क्षेत्र र समुदायले पनि यही बेला दाइजोविरोधी अभियानलाई द्रुत गतिले अघि बढाउनुपर्छ ।’

माइजनहरूले जारी गरेको घोषाणापत्र कार्यान्वयनमा भरपुर सहयोग गर्ने लहान नगरपालिकाका उप्रमुख तथा न्यायिक समिति संयोजक सरियारकुमारी चौधरीले बताइन् । उनले भनिन्, ‘परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्ने मान्यतामा विश्वास राखी आफ्नो छोराको बिहामा दाइजो लिन्न र मृत्युभोज गराउन उत्प्रेरित पनि गर्दिनँ ।’ जातीय माइजन समन्वय समिति लहानका संयोजक हरिनारायण यादवले पनि सबै पक्षसँग समन्वय र सहकार्य गरी दाइजो उन्मूलन अभियानमा सक्रिय हुने दृढता व्यक्त गरे ।

माइजनहरूले सार्वजनिक गरेको घोषणापत्रले समाजमा परिर्वतको ढोका खोलेको नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्ष दिनेश्वरप्रसाद गुप्ताले बताए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापा, समग्र जनउत्थान केन्द्र लहानका अध्यक्ष भैरव गेलाल, नागरिक सहकार्य मञ्च लहानका दुर्गा परियार र महिला अधिकारकर्मी देवकुमारी महरालगायतले यस अभियानले सामाजिक विकृति हटाउन बल पुग्ने विश्वास व्यक्त गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्