फोरजी विस्तार गर्न दुई चिनियाँ कम्पनी छानिए



काठमाडौं : नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि सम्झौता गरेको छ। टेलिकमले र्‍यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको हो। फोरजी सेवा बिस्तारका लागि आइतबार टेलिकम र दुई चिनियाँ कम्पनीबीच सम्झौता भएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।

 

एक वर्षभित्र नेपालभर फोरजी विस्तार गर्ने गरी सम्झौता भएको हो। यसका लागि कम्पनीहरूले आफ्नो क्षमता विस्तार गर्नुका साथै टेलिकमले पनि आफ्नो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम समयमा गरी सक्नुपर्ने सम्झौता भएको छ।

 

सम्झौतामा नेपाल सरकारको तर्फबाट गर्नुपर्ने काम टेलिकमले पूरा गर्नेछ। जंगल भएको ठाउँमा रिपिटर टावर राख्ने, सार्वजनिक जग्गा, वनको जग्गा लगायतको अनुमति लगायतका काम टेलिकमले गर्नेछ। सरकारले गर्नु पर्ने कानुनी, सरकारी नियकायबाट गर्नुपर्ने काम टेलिकमले समयमा गर्नुपर्ने सम्झौतामा छ। टावर निमार्ण गर्ने घरको व्यवस्थापन गर्नेसम्मका काम टेलिकमले गर्नुपर्ने सम्झौतामा उल्लेख रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिए।

 

यसअघि नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि २०७४ कात्तिक २२ गते टेन्डर आह्वान गरेको थियो। उक्त टेन्डर आह्वानमा हुवावे, जेडटीई, माभिनिर र सिसिएसआई गरी चार कम्पनी ठेक्काको लागि प्रतिस्पर्धामा आएका थिए।

 

प्रतिस्पर्धामा आएका मध्य आर्थिक हिसावमा अहिले जेडटीई र सिसिएसआई छनोट भएका हुन्। टेलिकमका अनुसार टेन्डर आह्वान गर्दा एलटीई कोर नेटवर्क र रेडियो एक्सेस नेटवर्किङ (र्‍यान) गरी दुई भागमा बाँडेर टेन्डर आव्हान भएको थियो।

प्रतिक्रिया दिनुहोस्