मन्त्रीको ड्रेसकोड लुङ्गी र गन्जी, घरमै मन्त्रालय



जनकपुरधाम : कुनै बेला सद्भावना पार्टी फुटाएर छुट्टै राजनीतिक दल बनाएका प्रदेश २ का मन्त्री रामनरेश राय शालीन, गम्भीर र तार्किक थिए । स्थानीय तहको भुइँ राजनीतिबाट आएका उनी संविधानसभा सदस्यसम्म भए ।

क्रियाशीलता र तत्परताका कारण उनले पार्टी फुटाएर सद्भावनाका तत्कालीन कद्दावर अध्यक्ष राजेन्द्र महतोको चंगुलबाट मुक्तमात्र भएनन्, छुट्टै पार्टी पनि निर्विघ्न ढंगले चलाए । 

पार्टी एकीकरण हुने दौरमा उनी महेन्द्रप्रसाद यादव नेतृत्वको दलसँग एकताबद्ध भई तराई मधेस सद्भावना पार्टी बनाए । राजपा बनिसकेपछि उनी पार्टीमा दोस्रो तहका नेताका रूपमा चिनिन थाले । 

स्थानीय तहको ‘मुखिया’ बाट राष्ट्रिय राजनीतिमा आएका राय अहिले प्रदेश २ सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन् । धेरै प्रकृतिका काम हेर्ने मन्त्रालयका मुखिया राय भने गत नौ महिनायता एकपटक पनि मन्त्रालय गएका छैनन् । 

गत वैशाखमा भएको हृदयघातपछि निकै अराजक र उपद्रवी शैलीमा प्रस्तुत हुने राय मन्त्रालयका सबै काम आफ्नो सरकारी आवासबाटै गरिरहेका छन् । ‘मन्त्रीले कसरी र कहाँबाट काम गर्ने भन्ने आचारसंहिता छैन । स्थापित विधि र प्रक्रिया मान्न मन्त्री राय तयार छैनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘अब त हामीले पनि मन्त्री आवास नै मन्त्रालय भएको स्वीकार गरिसकेका छौं ।’

मन्त्रालयका कर्मचारी हरेक दिन मन्त्रालयबाट मुस्किलले दुई मिनेट पैदल दूरीमा रहेको मन्त्री आवासमा हाजिरी लगाउँछन् । सानाठूला फाइल बोकेर मन्त्री आवासतर्फ दौडिँदै गरेका मन्त्रालयका कर्मचारीहरूको लर्को हेर्न सकिन्छ । 

‘अब मन्त्रीजी सुध्रिनुहुन्न भन्ने बुझिसक्यौं, त्यसैले मन्त्री आवास नै हाम्रो कामकाज गर्ने थलो बनेको छ,’ मन्त्रालयमा मन्त्री आउन छाडेपछि कामकाज प्रभावित भएको दुखेसो गर्दै एक कर्मचारीले भने, ‘राय मन्त्री होइनन्, राजा हुन् । जसलाई मनपरी गर्ने छुट सिस्टमले नै दिएको छ ।’   

प्रदेश २ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्री रायको अस्वस्थताका कारण उनी चौथो तलामा रहेको मन्त्रालय नजाने गरेको बताउँदै आएको छ । मुख्यमन्त्री लालबाबु राउतले गत वैशाखमा भएको हृदयघातपछि चिकित्सकको सल्लाहअनुसार नै चौथो तलामा रहेको मन्त्रालयमा मन्त्री राय नउक्लिएको बताए । 

उनले भने, ‘मन्त्रालयको कामकाज भएकै छन्, मन्त्रीले सबै फाइलमा हस्ताक्षर गर्नु नै भएको छ ।’ मुख्यमन्त्रीका अनुसार प्रदेश २ मुख्यालय रहेको मधेस भवनभित्र एउटा एकतले भवन (पहिला साल्ट टे«डिङ रहेको) उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई दिइएको छ । जहाँ मन्त्रीको कार्यकक्ष राखिएको छ । मन्त्री राय यसै ठाउँमा पुग्ने गरेका छन् । 

तर, मन्त्रालयका कर्मचारीहरूले भने मन्त्री राय अझै सरकारी आवासभित्रै लुङ्गी र गन्जीमा फाइल सदर गर्ने गरेको दाबी गरे । एक कर्मचारीले भने, ‘मन्त्रालयमा गएर हेर्नुस्, मन्त्रीजीको कार्यकक्ष छँदैछ । अन्त कतै मन्त्रीजी बस्ने गरेको कसैलाई थाहा छैन ।’ 

जनतालाई सास्ती

प्रादेशिक संरचना कार्यान्वयन हुन थालेपछि जनताको आकांक्षा र अपेक्षा चुलिएका छन् । आफूसँगै आन्दोलन गरेका नेता मन्त्री भएका बेला सोझै मन्त्रीलाई नै भेटेर आफ्ना समस्या र गुनासा जनताले सुनाउन चाहेका छन् । 

तर, मन्त्री आवासबाटै मन्त्रालय सञ्चालन हुन थालेपछि त्यहाँसम्म पुग्न जनतालाई निकै कठिन हुने गरेको छ । धेरैजसो जनता मन्त्रालयमा मन्त्रीको भेउ नपाएपछि निराश हुँदै फर्कने गरेका छन् । अर्थात् मन्त्री आवास मन्त्रीका आसपासे र केही कर्मचारीहरूको रजाइँ गर्ने ठाउँ बनेको छ । 

मन्त्री मस्त, सेवाग्राही त्रस्त

मन्त्री राय केही महिनायता स्वस्थ छन् । उनी सरकारी निकाय तथा गैरसरकारी संस्थाका कार्यक्रममा दिनहुँ जाने गर्छन् । लामो भाषण दिने गर्छन् । जनकपुर र जनकपुरबाहिर मज्जाले जाने गर्छन् । 

अझ उनी बस्ने गरेको आवासको पहिलो तलामा उनको शयनकक्ष छ । तर, उनी डाक्टरले बन्देज लगाएको भन्दै तीन तला उक्लिनुपर्ने मन्त्रालयमा जाँदैनन् । 

मुख्यमन्त्रीले स्वास्थ्यकै कारण मन्त्री राय चार तलामाथि रहेको मन्त्रालय जान नसकेको भनिरहँदा एक वरिष्ठ मुटुरोग विशेषज्ञले भने हृदयघातपछि सामान्यतया तला उक्लिनै नहुने भन्ने नरहेको बताए । 

उनले हृदयघातपछि तला नउक्लिकनै उक्लिन नसक्ने ठहर गर्नु मेडिकली करेक्ट नरहेको टिप्पणी गरे । उनले भने, ‘चारतला उक्लिनु पर्दा दुईतलामा जाने र दुई मिनेट रोकिएर फेरि दुई तला उक्लिदा भैहाल्छ नि ।’

प्रतिक्रिया दिनुहोस्